Aamsanchar

बाह्रगोठेमा बङ्गुरपालन प्रवर्धन कार्यक्रम सुरु

Author Image
बिहिवार, वैशाख १८, २०८२

उर्लाबारी-उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगरको–९ बाह्रगोठेमा बङ्गुरपालन प्रवर्धन कार्यक्रम सुरु गरेको छ । नगरले बङ्गुरपालन क्षेत्र छनौट गरी ९ नम्वर वडाको बाह्रगोठेका ३८ जना किसानलाई १–१ वटा बङ्गुरका पाठापाठी वितरण गरी कार्यक्रम सुरु गरेको हो । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले किसानलाई पाठापाठी वितरण गर्नुभयो ।

कोशी प्रदेश सरकार र लेटाङ नगरपालिकाले संयुक्त रूपमा किसानसँग लागत साझेदारीम यो कार्यक्रम सञ्चालन गरेको हो । नगर प्रमुख लावतीका अनुसार कोशी प्रदेश सरकारको पाँच लाख रुपियाँ किसानबाट ५७ हजार रुपियाँ साझेदारी गरी कुल ५ लाख ५७ हजार रुपियाँमा कार्यक्रम सञ्चालन गरिएको हो ।

बङ्गुरपालनका लागि सबैभन्दा उपयुक्त भूगोल छनोट गरी वडा ९ का ३८ जना किसानको समूह गठन गरिएको छ । ३८ जनामध्ये ३५ जनालाई पाठी र ३ जनालाई पाठा वितरण गरिएको हो ।

लेटाङ नगरपालिकाको पशुपक्षी शाखा प्रमुख अडिमर्दन श्रेष्ठले भन्नुभयो, “खरिद नियमावलीअनुसार कृषि फर्महरूसँग प्रस्ताव आह्वान गरिएकोमा न्यून दररेट पेस गर्ने फर्मबाट ३५ वटा पाठीलाई ८ हजारका दरले २ लाख ८० हजार रुपियाँ र ३ वटा पाठा ९विर० लाई १२ हजारका दरले ३६ हजारमा खरिद गरिएको छ ।

उहाँले कृषक समूह गठन, कृषक तालिम, औषधी तथा जैविक सुरक्षा सामग्री खरिद, बङ्गुरको बिमा र अनुगमन तथा प्रतिवेदन लगायतका शीर्षकमा रकम खर्च भएको जानकारी दिनुभयो ।

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले नगरपालिकाले पशु अस्पताल सञ्चालनमा ल्याएकाले अस्पतालबाट पशुपालक किसानले फाइदा लिनुपर्ने बताउनुभयो । बङ्गुर प्राप्त गर्ने किसानलाई जुकाको औषधी, भिटामिन, जैविक सुरक्षाका लागि प्रतिव्यक्ति ५ केजीका दरले चुना वितरण गरिएको छ ।

बङ्गुरको स्वास्थ्य जाँचगरी स्वाइन फिभरको भ्याक्सिन समेत लगाएर किसानलाई हस्तान्तरण गरिएकोमा आगामी दिनमा औषधी उपचारमा पनि सहयोग गर्ने नगरपालिकाको पशुपक्षी शाखाले जनाएको छ ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर