




कञ्चनपुर – कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादी पाइन थालेको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमुना संकलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ।


एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार बिहीबार शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छवटा पसलबाट संकलन गरिएका १० वटा तरकारीका नमुनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ। करेलाको नमुना परीक्षण गर्दा कार्वामेट १४.८५७ र अर्गानोफस्फेट ६०.५९९ प्रतिशत रहेको पाइएको छ।

“तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भए केही दिन राख्ने र पर्खने विषादीको मात्रा घटेको पाइए मात्र खानयोग्य हुन्छ, क्वारेन्टाइन गर्नुपर्ने हुन्छ”, एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले भने, ‘विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइए नष्ट गर्नुपर्छ। खानयोग्य हुँदैन।’

उनका अनुसार प्रयोगशालाले कार्वामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादीको परीक्षण गर्दै आएको छ। झलारी बजारमा रहेका छवटा पसलमा एकाइ कार्यालयको टोलीले अनुगमन गरी काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायतका गरी १० वटा नमुना प्रयोगशालामा जाँचका लागि संकलन गरी परीक्षण गरेको छ।
संकलित नमुनामा रायोको नमुनामा ३३.९४८ अर्गानोफस्टेट रहेको पाइएको छ। अन्य तरकारीका सङ्कलित नमुनामा किटनाशकको अवशेष ०.१५० देखि २७.९२७ रहेको पाइएको छ। विषादीको मात्रा अत्यधिक भेटिएको तरकारी पसलबाट जफत गरी नष्ट गरिएको छ। विषादीको प्रयोग गरी करेला बिक्री गर्न ल्याउने किसानलाई पहिलोपटकका लागि सचेत गर्ने कार्य गरिएको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका कर्मचारीले बताए।
दुई साताअघिमात्र महेन्द्रनगरको सब्जीमण्डीमा बिक्रीका लागि राखिएको काँक्राको नमुना प्रयोगशालामा परीक्षण गर्दा खानै नहुने मात्रामा विषादी फेलापरेको थियो। चालु आवको हालसम्म प्रयोगशालाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट दुई हजार १६७ किटनाशक विषादी परीक्षणका लागि नमुना संकलन गरेको छ।
सङ्कलित नमुनामध्ये १६ वटा विसर्जनयोग्य, आठवटा केही दिन पर्खनुपर्ने (क्वारेन्टाइन गर्नुपर्ने) र दुई हजार १४३ वटा खानयोग्य रहेको पाइएको छ। तरकारीका सबैभन्दा बढी नमुना कञ्चनपुरबाट ८२२ वटा संकलन गरिएका छन्, जसमध्ये नौवटा नमुनामा विषादीको मात्रा अत्यधिक रूपमा फेलापरेको छ। दुईवटा नमुना केही दिन पर्खेर मात्र खानयोग्य रहेको पाइएको एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले बताए।
उनका अनुसार कैलालीमा चालु आवमा ६२४ तरकारीका नमुना संकलन गरिएकामा पाँचवटा नमुनामा खान अयोग्य विषादीको मात्रा फेलापरेको छ। चारवटा नमुनामा केही दिन पर्खेरमात्र खान पाइने गरी विषादी राखिएको पाइएको छ।
प्रयोगशालाले स्थानीय तहसँगको समन्वयमा तरकारीका नमुना संकलन गरी किटनाशक विषादी परीक्षण गर्दै आएको छ। देशभरिमा तरकरीको विषादी परीक्षण गर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला १२ वटाछन्। शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार तरकारीमा किरा मार्न प्रयोग गरिने विषादी मानव स्वास्थ्यका लागि हानिकारक छ। तरकारीमा छर्किने विषादीले पेट दुख्ने, बान्ता हुने, पाचन प्रणालीमा समस्या ल्याउने, टाउको दुख्ने, पक्षघात हुने, विषादीयुक्त तरकारीको लामो समयसम्म प्रयोग गरे आन्द्रा, कलेजो वा छालाको क्यान्सर हुने सम्भवना हुन्छ।
‘मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोगलाई घटाई जैविक विधिबाट तरकारी उत्पादन गरी बिक्री वितरण गर्न किसानलाई सचेत पार्नु आवश्यक छ’, भट्टले भने, ‘तरकारीमा हालिने विषादीलाई न्यूनीकरण गर्न कृषि प्राविधिकले किसानका घरमै पुगेर यसले पुर्याउने हानिबारे जानकारी दिनुपर्छ।




