




काठमाडौं – दार्चुलामा माथिबाट खसेको ढुङ्गा लागेर एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।


बुधबार बिहान ७ बजेतिर नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ गइरहेका ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्र रावतले जानकारी दिए।

बाटोमा हिँड्दै गरेको अवस्थामा स्थानीय रतपडे भन्ने ठाउँ माथिबाट खसेको ढुङ्गा लागेर जोशीको घटनास्थलमै मृत्यु भएको उनले बताए। उनीसँगै रहेका नौगाड गाउँपालिका-६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन्। घाइते धामीको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको रावतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरीको टोली त्यस क्षेत्रतर्फ गएको बताइएको छ । गोकुलेश्वरबाट घटना स्थल पुग्न २/३ घण्टा लाग्ने बताइएको छ ।




