Aamsanchar

कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनामा ढिलासुस्ति, ठेकेदार सम्पर्कविहीन

Author Image
बुधवार, जेठ १५, २०८२

गाईघाट- उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारमा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनामा ढिलासुस्ति भएको छ । बर्सांदेखि खोला खोल्सी र कुवा पधँेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरका तीन वटा पालिकाका आमउपभोक्तालक्षित सो योजना सञ्चालनमा ल्याइएको हो । निर्माण कम्पनीको ढिलाइका कारण त्यस क्षेत्रका करिब ३७ हजार लक्षित वर्ग स्वच्छ खानेपानी उपभोगबाट वञ्चित हुन पुगेका छन् ।

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत रहेको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्था कार्यालय विराटनगरले एक अर्र्ब १६ करोड रुपियाँभन्दा बढीको लागतमा चार वर्षअघि लिफ्टिङ सिस्टमको दुई छुट्टाछुट्टै सुनकोशी खानेपानी योजना निर्माण सुरु गरिएको होे । २०८२ असार ३० गतेभित्रमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको भए पनि सो समयभित्र काम सम्पन्न हुने देखिएको छैन ।

आयोजनाको स्किम १ अन्तर्गत लिम्चुङ्बुङ गाउँपालिकाका वडा नं १ देखि ५ सम्म र रौतामाई गाउँपालिकाको वडा नं १ देखि ३ सम्मका तीन हजार २७२ घरधुरीका १९ हजार १४१ उपभोक्ता लाभान्वित हुने अपेक्षा गरिएको थियो ।

योजनाको स्किम २ अन्तर्गत ताप्ली गाउँपालिका वडा नं १ देखि ५ सम्मका तीन हजार ५६ घरधुरीका १७ हजार ८७९ जना उपभोक्तालाई छ हजार ३२७ वटा धारामार्फत स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने योजना रहेको छ तर हालसम्म पाइप जडानको कुनै काम सुरु भएको छैन ।

यस आयोजना अन्तर्गत स्थानीय उपभोक्ताले नगदै जम्मा गर्नुपर्ने एक प्रतिशतले हुने रकम एक करोड ५८ लाख ९६ हजार ५५२ रुपियाँ सम्बन्धित पालिकाले अघिल्लो वर्ष नै जम्मा गरिदिए पनि ठेकेदारको लापर्बाहीका कारण योजनाको निर्माण अगाडि नबढेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताउनुभयो ।

उहाँका अनुसार अत्यन्तै विकट भौगोलिक स्वरूप भएको सो क्षेत्रमा स्थानीयको आर्थिक अभावलाई हेरेर सम्बन्धित पालिकाले समेत आमउपभोक्ताको हितलाई ध्यान दिएर सहभागिताबापत स्थानीय उपभोक्ताले बेहोर्नुपर्ने रकमको जोहो गरी उपलब्ध गराइदिए पनि निर्माण कम्पनी मृत सञ्जीवनी एचएम ज्वाइन्ट भेन्चरका ठेकेदार करुण श्रेष्ठको गैरजिम्मेवारीका कारण आयोजना अलपत्र परेको छ ।

आयोजना प्रमुख सुरथलाल चौधरीले योजनालाई व्यवस्थित गर्न स्किम १ को आठ ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १७।५ लिटर र स्किम २ मा सात ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १६।५ लिटर पानी तानेर रिजर्भ ट्याङ्कीमा जम्मा गरी उपभोक्तालाई पाइपमार्फत घर घर वितरण गर्ने गरी डिजाइन गरिएको छ । उदयपुरको खानेपानीको क्षेत्रमा यो नै सबैभन्दा ठुलो आयोजना भएको प्रमुख चौधरीले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म दुई वटा सम्पवेल, चार वटा रिजर्भ लिफ्ट ट्याङ्की र ६७७ किलोमिटर पाइपलाइनमध्ये ४०१ किलोमिटर मात्र पाइप लाइन निर्माण सम्पन्न भएको छ । उहाँले निर्माण कम्पनीलाई पटक पटक ताकिता गर्दा पनि सम्पर्कमा नआएको आयोजना प्रमुख बताउनुहुन्छ ।

निर्माण कम्पनीका ठेकेदार करुण श्रेष्ठले ५० करोड ३० लाख ३२ हजार ५७० रुपियाँ भुक्तानी लिएर फरार भएपछि स्थानीयस्तरमा काम गर्ने मजदुरले काम गरेको ज्यालासमेत नपाएको गुनासो गरेका छन् ।ठेकेदार र प्रेजेक्ट म्यानेजर राजन आचार्य पनि योजनाको काम बिचैमा छोडेर सम्पर्कविहीन भएको स्थानीय मजदुरले बताएका छन् ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर