




दाङ – घोराही कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ । पछिल्लो समय फोहोरको समस्या बढिरहेको हुँदा यसलाई व्यवस्थापन गर्नका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालय घोराहीका कार्यालय प्रमुख लक्ष्मण सिँह राठौरले जानकारी दिनुभयो । ५० घनमिटर क्षमताको बायोग्यासबाट अहिले पनि ८० जनाको लागि खाना पकाउन सहयोग पुगेको कारागार घोराहीले जनाएको छ ।


अहिले पर्याप्त फोहोर नभएकाले यसमा गोबर र अन्य सामग्री पनि प्रयोग गर्न सकिने उहाँको भनाइ छ । विभिन्न ठाउँमा फोहोरजन्य वस्तुलाई व्यवस्थापनमा समस्या हुँदै आएको अवस्थामा आफूहरुले गरेको कामले फोहोरको व्यवस्थापनसँगै बायोग्यास समेत उत्पादनमा टेवा पुगेको कारागार घोराहीका प्रमुख राठौरले बताउनुभयो ।

बायोग्यास उत्पादनबाट खाना पकाउने एलपी ग्यासको बचत र दिसाजन्य फोहोरलाई समेत व्यवस्थापन गर्न निकै सहज भएको उहाँको भनाइ छ । अहिले घोराही कारागार कार्यालयमा चार सय २७ जना कैदीबन्दी रहेका छन् । बायोग्यास प्लान्ट निर्माणका प्रतिनिधि हरिशरण श्रेष्ठले फोहोर व्यवस्थापनमा दिसाजन्य बायोग्यास व्यवस्थापन प्रभावकारी रहेको बताउनुभयो ।





