Aamsanchar

सोलेडाँडामा जडीबुटी पार्क निर्माण

Author Image
आइतवार, जेठ १०, २०८३

गलकोट- बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरिएको छ । जडीबुटी खेतीका लागि उपयुक्त रहको हुँदा गाउँपालिकाले सोलेडाँडाको करिब ७ रोपनी क्षेत्रफलमा जडीबुटीको विरुवा लगाएको हो ।

प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क बनाएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । समुन्द्री सतहदेखि करिब दुई हजार ६३० मिटरको उचाइमा रहेको सोलेडाँडामा जडीबुटी राम्रो उत्पादन हुने उहाँको भनाइ छ ।

गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जडीबुटीको विरुवा लगाएको अध्यक्ष बुढामगरले बताउनुभयो । गाउँपालिकाले सोलेडाँडा छेउँको जंगलमा तारबार लगाएर पार्क निर्माण गरि चिराइलो, अर्सोगन्ध लगायत विभिन्न प्रजातिका जडीबुटी यहाँ लगाइएको उहाँको भनाइ छ ।

“सोलेडाँडा आफैमा पर्यटकीय क्षेत्र हो, यहाँ पछिल्लो समय उल्लेख्य पर्यटकको आगमन हुन थालेको छ, हामीहरुले नयाँ सोचका साथ जडीबुटी पार्कसमेत बनाएका छौँ” अध्यक्ष बुढामगरले भन्नुभयो, “अब सोलेडाँडा घुमफिर गर्ने र रमाउने ठाउँ मात्रै होइन, अनुसन्धान गर्ने क्षेत्रका रुपमा पनि विकास गर्ने उद्देश्यले जडिबुटी पार्क बनाएका हौँ, यहाँ अझै धेरै जडीबुटीका विरुवा लगाउने योजनामा छौँ ।”

गाउँपालिकाले जडीबुटी पार्कका लागि हालसम्म करिब सात लाख बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय सोलेडाँडामा दैनिक सयौँ पर्यटक आउने गरेको वडा नम्बर ४ का वडा अध्यक्ष छ प्रशाद सिर्पालीले बताउनुभयो ।

गाउँपालिकाले पर्यटन पूर्वधारसहित सहिद पार्क लगायतका पूर्वधार निर्माणसँगै जडीबुटी पार्क बनाएपछि टाढा–टाढाबाट अध्ययन अवलोकन गर्न आउनेको संख्यासमेत बढ्न थालेको बताइएको छ ।

 

 

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर