
ताप्लेजुङ-भीषण वर्षासँगै शुक्रबार राति काबेली र इन्द्रावतीखोलामा आएको बाढीका कारण काबेली ‘बी–१’ सहित चार वटा आयोजनाको उत्पादन ठप्प भएको छ । काबेली र इन्द्रावतीखोलामा आएको बाढीले आयोजनाको संरचनामा क्षति पुर्याउँदा विद्युत् उत्पादन ठप्प भएको हो ।
ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेलीखोलाबाट उत्पादन गरिएको दुई र इन्द्रावतीखोलाबाट उत्पादन गरिएका दुई आयोजनाको विद्युत् उत्पादन अहिले ठप्प भएको छ ।
इन्द्रावती पनि ताप्लेजुङ र पाँचथरकै सिमाना भएर बग्ने अर्को खोला हो । अरुण काबेली पावर लिमिटेडले काबेलीखोलाबाट उत्पादन गरेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ आयोजनाको विद्युत् ठप्प छ ।

अरुण काबेली पावर लिमिटेडका कर्मचारी लेखराज न्यौपानेका अनुसार आयोजनाको इन्टेकलगायतका संरचनामा खोलामा आएको बाढीले क्षति गरेका कारण विद्युत् उत्पादन ठप्प भएको हो । यस्तै १० मेगावाट क्षमताको काबेली ‘बी–१’ कै क्यासकेट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पनि ठप्प भएको न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार काबेली बी–१ जलविद्युत् आयोजनाको बाँध तथा इन्टेकमा बाढीले बगाएर ल्याएको ढुङ्गामाटो, लेदो र काठ (मुढा) थुप्रेका कारण आयोजना ठप्प भएको छ । शनिबार दिउँसोदेखि खोलामा पानीको बहाब घट्न थालेपछि इन्टेकमा थुप्रिएको ढुङ्गामुढा पन्छाउने काम भने सुरु भएको उहाँले जानकारी दिनुभयो । आयोजनाको इन्टेक सफा गर्नेसँगै अन्य संरचनामा पनि क्षति हुन सक्ने भएकाले मर्मतसम्भार गरी आयोजना सञ्चालनमा आउनलाई दुई सातासम्म लाग्ने उहाँको भनाइ छ ।
त्यस्तै रिडी हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत् आयोजनाको उत्पादनमा पनि ठप्प भएको छ । खोलामा आएको बाढीले बाँधस्थल र पाइप लाइनमा समेत सामान्य क्षति पुगेकाले उत्पादन ठप्प भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाढीले क्षति गरेका संरचना पुनर्निर्माण गरी आयोजना सञ्चालनमा आउनलाई महिनौँ लाग्ने अवस्था बनेको छ ।
त्यसै गरी इँवा हाइड्रोपावर लिमिटेडले इन्द्रावतीखोलाबाट नै उत्पादन गरेको ९.७ मेगावाट क्षमताको आयोजनाको उत्पादन पनि ठप्प भएको छ । इँवा हाइड्रोपावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार खोलामा आएको बाढीले आयोजनामा निकै क्षति पुर्याएको छ । बाँधस्थल इन्टेक, पाइप लाइन, विद्युत्गृहलगायतका संरचनामा क्षति पुगेको सेलिङले बताउनुभयो ।
इँवा हाइड्रोपावरका अर्का कर्मचारी खेम न्यौपानेका अनुसार आयोजनाको पाइप लाइन, विद्युत्गृहसहित मुख्य संरचनामा बाढीले क्षति गरेका कारण आयोजना पुनः सञ्चालन आउनलाई लामो समय लाग्ने अवस्था बनेको छ । खोलामा आएको बाढीका कारण आयोजनाका संरचनामा क्षति पुग्दा आर्थिक रूपमा हुने नोक्सानीको विवरण आउनलाई भने समय लाग्ने प्रवर्धक कम्पनीहरूले जनाएका छन् ।


