Aamsanchar

विशेष लेखः महत्वाकांक्षी नेपाल र उदाउँदो भारतबीच पुनः कसरी सम्बन्ध सुदृढ हुन सक्छ?

Author Image
बिहिवार, जेठ २१, २०८३

आजको नेपाल अनिश्चित भविष्यतर्फ अघि बढिरहेको छैन, बरु समृद्ध, सशक्त र लोकतान्त्रिक राष्ट्र निर्माणको महत्वाकांक्षी यात्रामा अघि बढिरहेको छ।

चार वर्षभन्दा कम अवधिमा गैरराजनीतिक पेशाकर्मी र राजनीतिक नवप्रवेशीहरूले स्थापना गरेको दलले संसदमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गर्नु र विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री निर्वाचित गराउनु सामान्य राजनीतिक घटना होइन। त्यसैले नेपालमा के भइरहेको छ र देश कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने विषयमा विश्वव्यापी चासो हुनु स्वाभाविक हो। खुला सीमासहित हजारौँ किलोमिटर जोडिएका छिमेकी भारतका लागि यो चासो अझ स्वाभाविक छ।

नेपालको यो परिवर्तन सडक हिंसा, सैनिक ‘कु’, विदेशी हस्तक्षेप वा संवैधानिक संकटको परिणाम होइन। यो शान्तिपूर्ण र लोकतान्त्रिक “मतपेटिका क्रान्ति” हो। विश्वका धेरै समाज ध्रुवीकरण, अविश्वास र भ्रष्ट राजनीतिबाट ग्रसित भई अलोकतान्त्रिक विकल्पतर्फ झुकिरहेका बेला नेपालले लोकतन्त्र अझै पनि परिवर्तनको प्रभावकारी माध्यम हुन सक्छ भन्ने प्रमाणित गरेको छ।

हाम्रो मूल मन्त्र स्पष्ट छ—कडा सुशासन, जनताप्रतिको प्रत्यक्ष जवाफदेहिता र विकासमुखी राजनीति।

नयाँ राजनीतिक यथार्थ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको नयाँ राजनीतिक यथार्थ बनेको छ। यसले जर्जर र जकडिएको राजनीतिक संरचनालाई चुनौती दिएको छ। रास्वपाले युवा पुस्तालाई परिणाममुखी राजनीतिमा आकर्षित गरेको छ।

हामीलाई थाहा छ, रास्वपाले प्राप्त गरेको जनमतमा विगतप्रतिको आक्रोश र भविष्यप्रतिको आशा दुवै समेटिएका छन्। यही कारणले युवा, सक्षम, समावेशी र स्वच्छ छवि भएका व्यक्तिहरू निर्वाचित हुन सम्भव भयो।

हामीसँग नेपालको परराष्ट्र नीतिलाई रूपान्तरण गर्ने सबैभन्दा ठूलो शक्ति छ—हामी विगतका बोझबाट मुक्त छौं। पुराना वैमनस्यता र गुप्त समझदारीहरूले हामीलाई बाँधेका छैनन्। भारत र विश्वलाई हामी खुला मन, स्पष्ट दृष्टि र पारदर्शी उद्देश्यका साथ हेर्छौं—नेपालको आर्थिक रूपान्तरण।

नेपाल र भारत केवल दुई राष्ट्र होइनन्, हामी साझा सभ्यता र सांस्कृतिक विरासतका साझेदार हौं। जनकपुर र अयोध्या जोडिएपछि मात्रै रामकथाको पूर्णता हुन्छ। पशुपतिनाथ र केदारनाथबीचको सम्बन्धले आस्थालाई पूर्णता दिन्छ। लुम्बिनी र बोधगयाको सम्बन्धले साझा सभ्यताको गर्भस्थललाई अर्थ दिन्छ।

सीमामात्र होइन, अर्थतन्त्र जोडौं

सीमापार हेर्दा हामीले आफैलाई नयाँ रूपमा परिभाषित गरेको भारत देख्छौं। भारतले पुराना प्रशासनिक जटिलताबाट मुक्त हुँदै विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमध्ये एक बन्न सफल भएको छ। यो उपलब्धिको हामी सम्मान गर्छौं र विकासको यात्रामा साझेदार बन्न चाहन्छौं।

भारतले प्रतिदिन करिब १५ किलोमिटर रेलमार्ग विस्तार गरिरहेको अवस्थामा प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग १५० किलोमिटरभन्दा कम दूरीको छ। यो रेलमार्ग पूरा हुने दिन व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउनेछ।

हामी केवल सीमाना जोड्न चाहँदैनौं, ती रेलमार्गले सम्पूर्ण अर्थतन्त्रलाई गति दिनुपर्छ भन्ने चाहना राख्छौं।

हामी केवल नयाँदिल्लीतर्फ मात्र होइन, भारतका विभिन्न राज्यहरूको विकास यात्रातर्फ पनि हेर्दैछौं।

भारतको उड्डयन क्षेत्रमा भएको प्रगति हेर्दा पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेंगलुरुसम्म सीधा उडान किन नहुने?

आन्ध्र प्रदेश र तेलंगानाले सूचना प्रविधिमा विकास गरेका सफल मोडेल हेर्दा काठमाडौं–बेंगलुरु डिजिटल करिडोरको कल्पना किन नगर्ने?

गुजरातको औद्योगिक पूर्वाधारबाट प्रेरणा लिएर नेपाल–भारत सीमामा रासायनिक मल उद्योग स्थापना गर्न किन नसक्ने?

हामी नेपालमा आईआईटी र एम्सजस्ता शैक्षिक तथा स्वास्थ्य संस्थाहरूको स्थापना चाहन्छौं। भारतीय आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयहरूलाई हामी नवप्रवर्तन प्रयोगशाला, इनक्युबेसन सेन्टर र प्रविधि केन्द्रहरू स्थापना गर्न आग्रह गर्छौं।

नेपालसँग प्रतिभाशाली युवा, प्रशस्त स्वच्छ ऊर्जा र बढ्दो डिजिटल प्रणाली छ। भारतीय प्रविधि र अनुभवको सहयोगले यी सम्भावनाहरूलाई अझ उच्च तहमा पु¥याउन सकिन्छ।

विकास कूटनीतितर्फको मोड

रास्वपा नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक तनावबाट हटाएर विकास कूटनीतिमा केन्द्रित गर्न चाहन्छ।

हाम्रो लक्ष्य कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार र आर्थिक साझेदारीका इञ्जिनका रूपमा विकास गर्नु हो। हामी यस्तो सम्बन्ध चाहन्छौं जसको प्रत्यक्ष लाभ दुवै देशका नागरिकको दैनिक जीवनमा देखियोस्।

नेपालको जलविद्युत् सम्भावना केवल नेपालको सम्पत्ति होइन, यो भारतको औद्योगिक विकासलाई ऊर्जा दिन सक्ने हरित स्रोत हो। त्यसैले खण्डित व्यापारभन्दा एकीकृत ऊर्जा बजार निर्माण आवश्यक छ।

टमाटरको मूल्य वा मेसिनरीको ढुवानी प्रशासनिक झन्झटले प्रभावित हुने अवस्था अन्त्य हुनुपर्छ। आधुनिक र डिजिटल एकीकृत जाँच चौकी तथा सहज पारवहन प्रणाली निर्माण गर्नुपर्छ।

जनकपुर, लुम्बिनी, बोधगया र हिमाली क्षेत्रहरूलाई जोडेर साझा धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्नुपर्छ।

हालै अहमदाबादमा भएको आईपीएल फाइनल हेर्दै गर्दा हामीले नेपाली खेलाडी र नेपाली रंगशालालाई आईपीएलसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि गम्भीर सोचिरहेका थियौं।

विश्वासको आधार निर्माण

कृषि, स्वास्थ्य, साइबर सुरक्षा र विपद् व्यवस्थापनलगायत धेरै क्षेत्रमा सहकार्यको सम्भावना छ। तर यसको आधार आपसी विश्वास हुनुपर्छ।

मुख्य विवादहरूलाई लुकाएर वास्तविक मित्रता निर्माण हुँदैन। हजारौँ वर्ष पुरानो सांस्कृतिक सम्बन्ध भएका छिमेकी राष्ट्रका रूपमा हाम्रा विवादहरू पनि ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा समाधान हुनुपर्छ।

हामी अतिराष्ट्रवादी भाषणबाजीलाई अस्वीकार गर्छौं। यसको विकल्प तथ्यमा आधारित संवाद र व्यावहारिक दृष्टिकोण हो।

स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सीमाका लागि सुरक्षा कवच हो। राजनीतिक रूपमा अस्थिर नेपालले भारतलाई पनि असहज बनाउँछ। त्यसैले नेपालको आर्थिक विकास भारतको रणनीतिक आवश्यकता पनि हो।

ऐतिहासिक अवसर

इतिहासले सधैं अवसर दिँदैन। कहिलेकाहीँ मात्र छोटो समयका लागि अवसरको झ्याल खुल्छ।

सन् २०२६ को यो समय नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने दशकौँयताकै सबैभन्दा उपयुक्त अवसर हो।

पछिल्ला ३० वर्षको अस्थिर र भ्रष्ट नेपाल अब इतिहास बनिसकेको छ। आज नेपालसँग सचेत युवा मतदाताको बलियो जनादेश छ, जसले व्यावसायिक सोच र परिणाममुखी नेतृत्वलाई अगाडि ल्याएको छ।

हामी नीतिगत निरन्तरता, पारदर्शिता र इमानदारीको प्रतिबद्धता व्यक्त गर्छौं। नेपाली जनता तयार छन्, त्यसैले रास्वपा नेतृत्व पनि तयार छ।

अब विगतका आशंका होइन, साझा भविष्यका असीम सम्भावनामा आधारित साझेदारी निर्माण गरौं।

३ अगस्ट २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई सम्बोधन गर्दै नेपाल–भारत सम्बन्ध हिमाल र गंगाजत्तिकै पुरानो रहेको बताएका थिए। उनले सीमाना अवरोध होइन, पुल बन्नुपर्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका थिए।

त्यसयता बागमती र गंगामा धेरै पानी बगिसकेको छ। नदीहरूले पहाडसँग बहस गर्दैनन्, आफ्नो बाटो आफैं बनाउँछन्। नेपाल र भारतले पनि त्यही बाटो अपनाउनुपर्छ।

हामी फेरि विश्वास, आत्मीयता र व्यवहारिक सहकार्यको जगमा फर्कनुपर्छ। पुराना मतभेद पन्छाएर नयाँ सम्भावनाको पुल निर्माण गर्ने समय यही हो।

यो लेख हिन्दुस्थान टाइम्समा प्रकाशित अंग्रेजी भाषामा लेखिएको लेखलाई अनुवाद गरिएको हो ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर