Aamsanchar

गर्भवती महिलाको पीडा: राज्यको संवेदनशीलता कहाँ हरायो ?

Author Image
बिहिवार, जेठ २१, २०८३

नौ महिनासम्म गर्भ बोकेर एउटा नयाँ जीवन संसारमा ल्याउने तयारीमा रहेकी महिला अस्पतालको कुर्सीमा घण्टौँसम्म पीडा र चिन्तासँग सङ्घर्ष गरिरहेकी छिन्। उनको साथमा आएका श्रीमान्, आमा वा परिवारका सदस्यहरू पनि उत्तिकै चिन्तित छन्। तर सेवा दिनुपर्ने ठाउँमा उनीहरूले पाउने जवाफ हुन्छ— “छिटो सेवा चाहिन्छ भने निजी अस्पताल जानुहोस्।”

यो केवल एउटा कर्मचारीको झर्कोपूर्ण अभिव्यक्ति मात्र होइन, यो त हाम्रो सार्वजनिक सेवा प्रणालीमा मौलाउँदै गएको असंवेदनशील मानसिकताको प्रतिविम्ब हो।

थापाथलीस्थित प्रसूति अस्पताल गरिब, निम्न आय भएका र दुर्गम क्षेत्रबाट आएका हजारौं महिलाहरूको आशाको केन्द्र हो। निजी अस्पतालको महँगो शुल्क तिर्न नसक्नेहरू अन्तिम भरोसा मानेर यहाँ आउँछन्। तर जब त्यही भरोसाको ढोका अगाडि उनीहरूलाई उपेक्षा, ढिलासुस्ती र अपमानको अनुभूति गराइन्छ, तब प्रश्न केवल सेवाको हुँदैन, मानवताको पनि हुन्छ।

कर्मचारीलाई सायद थाहा नहुन सक्छ— निजी अस्पताल जानुहोस् भन्नु जति सजिलो छ, त्यहाँको बिल तिर्नु त्यति नै कठिन छ। कतिपय परिवारले उपचारका लागि ऋण खोज्नुपर्छ, गहना बेच्नुपर्छ, वा भविष्यको खर्च कटौती गर्नुपर्छ। त्यसैले सरकारी अस्पताल उनीहरूको रोजाइ होइन, बाध्यता र आशा दुवै हो।

विडम्बना के छ भने, अनुगमन गर्ने निकायहरू प्रायः प्रतिवेदनमा व्यस्त देखिन्छन्, तर सेवाग्राहीको आँखामा देखिएको पीडा पढ्न अस्पतालको लाइनसम्म पुग्दैनन्। यदि एक दिन अनुगमन टोलीहरू सामान्य नागरिक बनेर लाइनमा बसे भने सायद उनीहरूले कागजमा नदेखिने यथार्थ देख्ने थिए।

गर्भवती महिलाहरू कुनै सुविधा मागिरहेका छैनन्, उनीहरू आफ्नो अधिकार खोजिरहेका छन्। उनीहरू सम्मान खोजिरहेका छन्। उनीहरू समयमै उपचार खोजिरहेका छन्। एउटा राष्ट्रको सभ्यता र संवेदनशीलता मापन गर्ने मापदण्ड त्यहाँका सबैभन्दा कमजोर र सबैभन्दा बढी हेरचाह आवश्यक पर्ने नागरिकसँग कस्तो व्यवहार गरिन्छ भन्ने हो।

यदि प्रसूति अस्पतालमै गर्भवती महिलाहरूले घण्टौँ सास्ती भोग्नुपर्छ, अपमान सहनुपर्छ र निजी अस्पतालको बाटो देखाइन्छ भने प्रश्न उठ्छ— गरिब नागरिकका लागि बनेको राज्य वास्तवमै कसका लागि चलिरहेको छ?

आज थापाथली अस्पतालको यो प्रश्न केवल एउटा अस्पतालको समस्या होइन, यो राज्यको जिम्मेवारी, जवाफदेहिता र मानवीय संवेदनशीलताको परीक्षा हो। र यो परीक्षामा असफल हुने मूल्य सबैभन्दा पहिले एउटा गर्भवती महिलाले चुकाइरहेकी छिन्।

पद र लिङ्गभन्दा ठूलो कुरा जिम्मेवारी र संवेदनशीलता हो। महिला मन्त्री हुनुहुन्छ भन्दैमा सबै समस्या स्वतः समाधान हुँदैनन्, तर महिलाको पीडा, मातृत्वको संघर्ष र सेवाग्राहीको दुःखप्रति विशेष चासो र पहल भने अपेक्षित हुन्छ।

“देशमा महिला मन्त्री छन्, महिला नेतृत्व छ, महिला सशक्तीकरणका भाषण छन्। तर प्रसूति अस्पतालमा गर्भवती महिला भने अझै लाइनमा छन्, पीडामा छन् र सेवाको प्रतीक्षामा छन्। कुर्सीमा महिला पुगेको देखियो, तर पीडामा परेकी महिलासम्म राज्यको संवेदनशीलता पुग्न अझै बाँकी छ।”

 

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर