Aamsanchar

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट, नागरिक समाजलाई पनि सहयात्राको आह्वान

Author Image
शुक्रवार, जेठ २२, २०८३

बिर्तामोड । पूर्वी नेपालको पर्यटन विकासलाई नयाँ गति दिने उद्देश्यसहित आयोजना हुन लागेको ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ । तर यसपटकको विशेषता केवल एउटा सम्मेलन मात्र होइन, पर्यटनलाई दिगो, व्यवस्थित र समुदायमुखी बनाउने अभियानमा निजी क्षेत्रको बढ्दो सक्रियता र नागरिक समाजलाई जोड्ने प्रयास पनि हो।

जेठ २३ र २४ गते इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा सञ्चालन हुने दुईदिने सम्मेलनले पर्यटनलाई केवल घुमफिरको विषय नभई स्थानीय अर्थतन्त्र, वातावरण संरक्षण र समुदायको समृद्धिसँग जोडिएको क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमस्थलमा आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । १६ वटा विषयगत स्टलमार्फत पूर्वी नेपालको पर्यटन, संस्कृति, जैविक विविधता तथा स्थानीय उत्पादनहरूको प्रदर्शन गरिनेछ । सहभागी अतिथिहरूको आवास तथा व्यवस्थापनका कामसमेत अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।
सम्मेलनको केन्द्रमा रहेको अवधारणा झापाको केचनादेखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासम्मको भूगोललाई एउटै पर्यटकीय करिडोरका रूपमा विकास गर्ने हो। समुद्री सतहबाट सबैभन्दा न्यून उचाइको भूभागदेखि विश्वप्रसिद्ध हिमाली क्षेत्रसम्म फैलिएको प्राकृतिक, सांस्कृतिक र जैविक विविधतालाई एउटै पर्यटन ब्रान्डका रूपमा स्थापित गर्ने प्रयास सम्मेलनले गर्नेछ।

आयोजकहरूका अनुसार पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको चासो उल्लेखनीय रूपमा बढेको छ। होटल व्यवसायी, पर्यटन उद्यमी, गाइड, यातायात व्यवसायी र स्थानीय व्यवसायिक संस्थाहरू पर्यटन प्रवद्र्धनका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन थालेका छन्। सम्मेलनको मुख्य प्रवद्र्धकका रूपमा होटल व्यवसायी संघ इलामको भूमिका पनि यही सक्रियताको उदाहरण मानिएको छ ।
तर पर्यटन क्षेत्रको दिगो विकास केवल व्यवसायीहरूको प्रयासले मात्र सम्भव नहुने सरोकारवालाहरूको बुझाइ छ । स्थानीय समुदाय, नागरिक समाज, वातावरण संरक्षणमा काम गर्ने संस्था, सांस्कृतिक अभियन्ता र सञ्चार क्षेत्रसमेत पर्यटन विकासका महत्वपूर्ण साझेदार भएकाले उनीहरूको सक्रिय सहभागिता आवश्यक रहेको सम्मेलन आयोजकहरूको धारणा छ ।

सम्मेलनकी संयोजक सुशीला सापकोटाका अनुसार पूर्वी नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने र नेपाल–भारत सीमापार पर्यटन सहकार्यलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यसले स्थानीय पर्यटन उद्योगलाई मजबुत बनाउनुका साथै क्षेत्रीय सहकार्यको नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा जिम्मेवार पर्यटन, हरित अर्थतन्त्र, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानीय समुदायको सहभागिताजस्ता विषयमा नेपाल र भारतका विज्ञहरूबीच गहन छलफल हुनेछ। भारतको दार्जिलिङ, सिक्किम र पश्चिम बंगालबाट पर्यटन व्यवसायी, वातावरणविद् तथा सरकारी प्रतिनिधिहरूको सहभागिता रहनेछ भने नेपालका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, पर्यटन पत्रकार, संस्कृति अध्येता तथा उद्यमीहरू पनि सहभागी हुनेछन्।
कार्यक्रम अन्तर्गत पूर्वी नेपालको प्राकृतिक सौन्दर्य झल्काउने ल्यान्डस्केप ग्यालरी, फोटो तथा भिडियो प्रदर्शनी, रैथाने सांस्कृतिक प्रस्तुति, स्थानीय कला–हस्तकला प्रदर्शनी तथा इलामेली परिकारहरूको प्रदर्शनी र बिक्री कक्ष सञ्चालन गरिनेछ। साथै सहभागीहरूका लागि इलामका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमणको व्यवस्था पनि गरिएको छ।

पूर्वी पहाडी क्षेत्रमा बढ्दो अव्यवस्थित पर्यटन गतिविधि, फोहोर व्यवस्थापन, प्राकृतिक सम्पदामाथिको दबाब र वातावरणीय चुनौतीबारे बहस भइरहेका बेला आयोजना हुन लागेको यो सम्मेलनले पर्यटन विकासको नयाँ मोडल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रको उत्साह र नागरिक समाजको सहभागिता एकसाथ जोड्न सकिए पूर्वी नेपालको पर्यटनले नयाँ उचाइ प्राप्त गर्ने विश्वास आयोजक समिति सहसंयोजक देवी पौडेलहरूले धारणा व्यक्त गरेका छन्।
सम्मेलनले पर्यटनलाई केवल आर्थिक गतिविधिको रूपमा नभई प्रकृति, संस्कृति र समुदायबीचको सन्तुलित सम्बन्धका रूपमा स्थापित गर्दै पूर्वी नेपालको दीर्घकालीन पर्यटन विकासका लागि मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ।

Views: 84

प्रतिक्रिया (०)