बिर्तामोड । पूर्वी नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले भारतको दार्जिलिङ र सिक्किमका सरकारी प्रतिनिधि, पर्यटन व्यवसायी तथा वातावरणविद्हरूको टोली इलाम आउने भएको छ। उनीहरू ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ मा सहभागी हुन इलाम आउन लागेका हुन्।
जेठ २३ र २४ गते इलाम सदरमुकाममा आयोजना हुने सम्मेलनले झापाको केचनादेखि कञ्चनजंघासम्म फैलिएको पर्यटन करिडोरलाई साझा गन्तव्यका रूपमा विकास गर्ने अवधारणालाई अन्तरदेशीय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ।
सम्मेलनमा सहभागी हुन आउने भारतीय टोलीमा दार्जिलिङ, सिक्किम र पश्चिम बंगालका सरकारी अधिकारी, पर्यटन क्षेत्रका सरोकारवाला, होटल व्यवसायी तथा वातावरण संरक्षणकर्मीहरू रहने जनाइएको छ। उनीहरूले पूर्वी नेपालको पर्यटन सम्भावना, सीमापार पर्यटन सहकार्य तथा दिगो पर्यटन विकासका विषयमा अनुभव आदानप्रदान गर्नेछन्।
आयोजकहरूका अनुसार नेपाल र भारतका हिमाली तथा पहाडी क्षेत्रबीच पर्यटकीय सम्बन्ध विस्तार, संयुक्त पर्यटन प्याकेज निर्माण तथा पर्यटक आवागमन सहज बनाउने विषयमा समेत छलफल हुनेछ। यसले पूर्वी नेपाललाई भारतीय पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्मेलनको मुख्य आकर्षणका रूपमा रहेको केचना–कञ्चनजंघा पर्यटन करिडोर अवधारणाले नेपालको सबैभन्दा होचो भूभाग केचना र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघालाई एउटै पर्यटकीय पहिचानमा जोड्ने प्रयास गरेको छ। तराईदेखि हिमालसम्मको प्राकृतिक, सांस्कृतिक र जैविक विविधतालाई एकीकृत रूपमा विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।
सम्मेलन अवधिभर जिम्मेवार पर्यटन, हरित अर्थतन्त्र, वातावरण संरक्षण, स्थानीय समुदायको सहभागिता तथा जैविक विविधताको संरक्षणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबीच बहस हुनेछ। साथै स्थानीय संस्कृति, कला, हस्तकला र इलामेली परिकारहरूको प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ।
आयोजकहरूले दार्जिलिङ र सिक्किमका सरकारी प्रतिनिधिहरूको सहभागिताले नेपाल–भारत पर्यटन सहकार्यलाई नयाँ उचाइ दिने तथा पूर्वी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेका छन्। सम्मेलनपछि सहभागीहरूलाई इलामका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमणसमेत गराइने कार्यक्रम रहेको छ।


