झापा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको भद्रपुर–जलथल–राजगढ सडक खण्डको अवस्था दयनीय बनेपछि स्थानीयवासी आक्रोशित भएका छन्। विशेषगरी पुल आसपासका क्षेत्रमा कालोपत्रे कार्य अधुरै छाडिँदा सडक धुलाम्मे, खाल्डाखुल्डीपूर्ण र वर्षायाममा हिलाम्मे बन्दै गएको छ।
स्थानीयका अनुसार निर्माण कम्पनी तथा सम्बन्धित निकायको लापरबाहीका कारण सडक प्रयोगकर्ता दैनिक सास्ती खेप्न बाध्य छन्। पुल आसपासका भागहरूमा सडक भत्किएको, कालोपत्रे नभएको र मर्मतसम्भारसमेत नगर्दा सवारी सञ्चालन जोखिमपूर्ण बनेको छ। वर्षा सुरु भएसँगै अवस्था झनै भयावह बन्दै गएको छ।
यस सडकमार्फत दैनिक रूपमा सयौँ विद्यार्थी, बिरामी, किसान, व्यापारी तथा सर्वसाधारण आवतजावत गर्ने भए पनि सम्बन्धित निकाय भने मौन देखिएको स्थानीयको गुनासो छ। सडकको वर्तमान अवस्थाले कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी स्थानीयवासीले दिएका छन्।
सोही क्षेत्रका युवा अभिषेक खतिवडाले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीमा निवेदन दिँदै पुल आसपासका क्षेत्रमा बाँकी रहेको कालोपत्रे कार्य तत्काल सम्पन्न गर्न, खाल्डाखुल्डी पुर्न र सडक मर्मत गर्न माग गरेका छन्। उनले सडकको वास्तविक अवस्था देखाउने तस्बिरसमेत निवेदनसँग संलग्न गरेका छन्।

स्थानीयवासीले राष्ट्रिय गौरवको आयोजनाको नाममा वर्षौँदेखि निर्माण कार्य लम्ब्याइँदा जनताले सास्ती मात्र पाएको आरोप लगाएका छन्। उनीहरूले सम्बन्धित निकायले तत्काल काम नगरे थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएका छन्।
‘राष्ट्रिय गौरवको सडक कि दुर्घटनाको पासो’ भन्ने प्रश्न अहिले भद्रपुर–जलथल–राजगढ सडक प्रयोगकर्तामाझ उठ्न थालेको छ। निर्माण सम्पन्न नहुँदा नागरिकको धैर्यको बाँध टुट्न थालेको देखिन्छ।


