Aamsanchar

कनकाई नगरपालिकाद्वारा वृहत् वृक्षरोपण

Author Image
शुक्रवार, जेठ २२, २०८३

झापाको कनकाई नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा बाह्रदशी गाउँपालिकासँग लिएको जग्गामा विभिन्न प्रजातिका २ हजार २०० वटा बिरुवा रोपिएको हो।

नगरपालिकाका अनुसार बाह्रदशी गाउँपालिकाको भूगोलमा रहेको, कनकाई नगरपालिकाको आर्थिक लगानी तथा सब–डिभिजन वन कार्यालय सुरुङ्गाको नाममा रहेको २ बिघा १७ कठ्ठा १० धुर क्षेत्रफलको जग्गामा वृक्षरोपण गरिएको छ ।

सुरुङ्गास्थित कृषि बजारको जग्गाको सट्टाभर्ना प्रक्रियाअनुसार बाह्रदशी–७ मा रहेको उक्त जग्गा करिब पाँच वर्षअघि कनकाई नगरपालिकाले खरिद गरी वन कार्यालयको नाममा नामसारी गराएको थियो। सम्झौताअनुसार नगरपालिकाले उक्त जग्गामा वृक्षरोपण गरी पाँच वर्षसम्म बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी पूरा गरेपछि वन कार्यालयलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको छ।

बाह्रदशी–७ स्थित बाँझो क्षेत्रलाई खनजोत गरी कनकाई नगरपालिकाको अगुवाइमा स्थानीय राजनीतिक दल, विभिन्न संघसंस्था तथा समुदायको सहभागितामा वृक्षरोपण गरिएको नगरपालिकाले जनाएको छ।

झापा क्षेत्र नम्बर ४ का सांसद शम्भू ढकाल सुस्केरा को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, नेपाल रेडक्रस, कनकाई, जामुनखाडी, सुकेडाँगी तथा प्रजापति सामुदायिक वनका प्रतिनिधि, नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, नगर कार्यपालिकाका कर्मचारी, सुरुङ्गा र घैलाडुब्बा इलाका प्रहरी कार्यालयका प्रमुख, सुरुङ्गा जेसीज, कनकाई छठ सेवा समाजलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेका अनुसार कार्यक्रममा करिब २ सय ५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। वृक्षरोपण कार्यक्रमले बाँझो जमिनको संरक्षण, हरियाली प्रवद्र्धन तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

Views: 144

प्रतिक्रिया (०)