
काठमाडौं – हिरासतमा परेका एक व्यक्तिको मृत्युका कारण प्रमुख प्रहरी नायव उपरीक्षक(डीएसपी) लक्ष्मी खनाललाई विभागीय कारबाही हुने भएको छ ।
उनी इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख हुँदा गत भदौमा कालीकोटका ३८ वर्षीेय वीरेन्द्रबहादुर सिंहको हिरासतमा परेपछि मृत्यु भएको थियो ।
सिंह ज्यान मार्ने मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए । पक्राउको तीन दिनमै उनको मृत्यु भएको थियो । हिरासतमा बस्दा अस्वस्थ भएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । उनको उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

सिंहका परिवारले प्रहरी हिरासतमा राख्दा भएको यातनाका कारण मृत्यु भएको जिकिर लिँदै प्रहरीमाथि छानबिन हुनुपर्ने माग राखेका थिए । तर, छानबिन भएको थिएन ।
लामो समयपछि लुम्बिनी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी सन्तोष राठौरको नेतृत्वमा गठित समितिले घटनाको छानबिन गरेको हो । राठौरको नेतृत्वमा चार सदस्यीय समिति बनेको थियो । हाल एसएसपी राठौरको लुम्बिनीबाट प्रदेश प्रहरी कार्यालयल कर्णाली सरुवा भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार, प्रहरीको कमजोरीका कारण सिंहको मृत्यु भएको देखिएपछि डीएसपी खनालसहित हिरासत कक्षका प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको हो ।
एक अधिकारीले भने, “हिरासतमा राखिएको व्यक्तिको मृत्यु हुनु आफैँमा पनि कमजोरी हो । अझ हिरासत कक्षमा मृत्यु हुँदा त्यसको जिम्मेवारी प्रहरी अधिकारीले लिने हो । प्रहरीकै कमजोरी देखिएपछि कारबाहीका लागि सिफारिस गरिएको छ ।”
लुम्बिनी प्रदेश प्रहरीले छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय पठाएको छ । त्यसपछि प्रधान कार्यालयको कानुन शाखाले डीएसपी खनालमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
सिंहकै मृत्युले विवादमा मुछिएपछि गत असोजमै डीएसपी खनाललाई कोहलपुरबाट तानिएको थियो । खनाललाई त्यहाँबाट अपराध अनुसन्धान विद्यालय, प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज, काठमाडौंमा सरुवा गरिएको थियो ।


