Aamsanchar

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प : ३१ जनाको मृत्यु, १२ भन्दा धेरै अझै बेपत्ता

Author Image
सोमवार, जेठ २५, २०८३

मनिला – फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा १२ भन्दा धेरै व्यक्ति अझै हराइरहेका छन् भने १३४ जना घाइते भएका छन् ।

करिब सात लाख २० हजार जनसङ्ख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा नौ जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार भूकम्प गएको करिब दुई घण्टापछि ६.५ म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो ।

जनरल सान्तोसमा एएफपीका एक पत्रकारले सोमबार दिउँसो उद्धारकर्मीहरूले ग्राहकहरूको भीडभाड भइरहने एक लोकप्रिय किराना पसल भत्किँदा भग्नावशेषमा पुरिएका भनिएका दुई कर्मचारीको मृत शरीरलाई निकाल्ने प्रयास गरिरहेका देखेको बताए ।

अति प्रभावित सारङ्गानी प्रान्तका विपद् प्रमुख रेने पुन्जालानले एएफपीलाई बताएअनुसार ग्लान नगरपालिकामा मात्रै पहाडको फेदमा पहिरोले घर पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर