Aamsanchar

धर्म संरक्षण अभियानलाई राष्ट्रव्यापी बनाउने वैदिक सनातन धर्म संरक्षण समितिको घोषणा

Author Image
शनिवार, जेठ ३०, २०८३

बिर्तामोड । श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपालले आफ्नो केन्द्रीय प्रथम महाधिवेशनमार्फत विगत कार्यकालका उपलब्धि तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ ।
आज बिर्तामोड स्थित हिमालसागर पार्टीप्यालेसमा आयोजित महाधिवेशनमा अध्यक्ष रामप्रसाद ओझाले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले वैदिक सनातन धर्मको संरक्षण, संवद्र्धन र प्रचारप्रसारका क्षेत्रमा उल्लेखनीय गतिविधि सञ्चालन गरेको उल्लेख गरिएको छ ।२०७५ सालमा स्थापना भएको संस्थाले पछिल्ला वर्षहरूमा केन्द्र, जिल्ला तथा स्थानीय तहसम्म संगठन विस्तार गरेको जनाएको छ । संस्थाले सदस्यता अभियान सञ्चालन, विभिन्न जिल्लामा समिति गठन तथा पुनर्गठन, वैदिक यज्ञ, धार्मिक चेतनामूलक कार्यक्रम, शास्त्रीय चिन्तन–मन्थन तथा संस्कृत भाषा र वैदिक संस्कृतिको प्रवद्र्धनमा काम गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले दमक र सुरुङ्गामा भएका गौहत्याका घटनामा दोषीलाई कानुनी दायरामा ल्याउन आवाज उठाएको, विपन्न गुरु परिवारलाई दाहसंस्कारका लागि आवश्यक सहयोग उपलब्ध गराएको तथा बिरामी सदस्यहरूलाई उपचारमा सहुलियत दिलाउन अस्पतालसँग सम्झौता गरेको जनाएको छ । सदस्य गुरुहरूको हितका लागि स्वास्थ्य कोष स्थापना गरी सहयोग संकलनसमेत सुरु गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इलामको तोरीबारीस्थित गुरुकुलमा खाद्यान्न अभाव भएपछि संस्थाको समन्वयमा करिब २०० मन चामल, दाल, तेललगायत खाद्य सामग्री सहयोग गरिएको जानकारी दिइएको छ । यस्तै, भजन–कीर्तन प्रतियोगिता, नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, धार्मिक गोष्ठी, रक्तदान तथा आँखा शिविर सञ्चालन गरी सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिएको संस्थाको दाबी छ ।
संस्थाले दमकमा केन्द्रीय कार्यालय स्थापनाका लागि दुई कठ्ठा जग्गा प्राप्त गरिसकेको जनाउँदै भवन निर्माणका लागि प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक पहल भइरहेको जनाएको छ ।
आगामी कार्यकालमा संस्थाको आफ्नै भवन निर्माण, वैदिक स्वास्थ्य उपचार कोष र वैदिक कल्याण कोष स्थापना, गुरुकुल बचाऊ अभियान सञ्चालन, युवा तथा महिला समूह गठन, धार्मिक पर्यटन प्रवद्र्धन, वैदिक ग्रन्थको अध्ययन–अनुसन्धान तथा डिजिटल माध्यमबाट सनातन धर्मको प्रचारप्रसारलाई प्राथमिकतामा राखिने अध्यक्ष ओझाले बताएका छन् ।

महाधिवेशनमा अध्यक्ष ओझाले संस्थालाई अझ सशक्त, व्यवस्थित र राष्ट्रव्यापी बनाउँदै वैदिक सनातन धर्मको संरक्षण तथा प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रामप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न उक्त महाधिवेशनको उद्घाटन ओमसाई पाथिभरा अस्पतालका संस्थापक कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण पोखरेलले गरेका थिए ।
धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने जग्गादाता परशुराम ओझा, मेचीनगरका पुरोहित पं. बाबुराम ढुंगाना, उर्लाबारीका दिननाथ उपाध्याय ढुङ्गेल, हिमाल सागर पाटी प्यालेसका संचालक देवप्रसाद संग्रौला र लेखापरीक्षक श्रीप्रसाद निरौलालाई सम्मान गरिएको थियो।

बिर्तामोड २ का वडाध्यक्ष किशोर कुमार पौडेल, शंखराचार्य पीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा, कनकाई धामका अध्यक्ष शेरबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खुलासत्रमा महासचिव खगेन्द्र निरौलाले सञ्चालन र उपाध्यक्ष अग्नी प्रसाद सिग्देलले स्वागत गरेका थिए ।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर