झापा । भद्रपुरस्थित उडल्याण्ड होटलमा धारिलो हतियार देखाएर गुण्डागर्दी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–८ स्थित उडल्याण्ड होटलमा शुक्रबार राति करिब १ बजे दुई जना व्यक्तिले खुकुरी र चक्कु देखाएर आतंक मच्चाइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरी पुग्नुअघि नै ती व्यक्तिहरू धारिलो हतियार फ्याँकेर फरार भएका थिए । त्यसपछि प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा खटिएको टोलीले खोजतलास तीव्र बनाएको थियो ।
सो क्रममा शनिबार दिउँसो २ बजे भद्रपुर नगरपालिका–१० स्थित जिल्ला निर्वाचन कार्यालय अगाडिबाट मेचीनगर नगरपालिका–१० निवासी ३६ वर्षीय कबिराज गुरागाईं र बिर्तामोड नगरपालिका–७ निवासी ३० वर्षीय पराजय चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुवै जना जिल्ला निर्वाचन कार्यालय झापाका कर्मचारी रहेको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएका खुकुरी र चक्कु बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




