
बिर्तामोड – झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ।
यस अवधिमा तीन वटा जङ्गली हात्तीको पनि मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२ र ८३ मा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। मानव बस्ती नजिक हात्तीको आवतजावत बढेसँगै मानव र वन्यजन्तुबिचको द्वन्द्वले दुवैतर्फ क्षति पुर्याउँदै आएको छ।
यसैक्रममा आइतबार बिहान मेचीनगर नगरपालिका–४ की ६२ वर्षीया पद्मा पौडेलको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। बिहान करिब ४ः५५ बजे घरबाट बाहिर निस्कने क्रममा हात्तीले कुल्चिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयले मृतकको शव उठाउन अवरोध गरेका छन्। हात्ती समस्याको दीर्घकालीन समाधानको माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालयका प्रतिनिधि तथा जनप्रतिनिधिविरुद्ध नाराबाजी गरेका छन्।
स्थानीयवासीले सम्बन्धित निकायका प्रतिनिधि घटनास्थलमा नपुग्दासम्म शव उठाउन नदिने अडान लिएका छन्। उनीहरूले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय झापाले आवश्यक प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको जनाएको छ।
वन कार्यालयका अनुसार झापाका विभिन्न क्षेत्रमा जङ्गली हात्तीको नियमित आवतजावत रहने गरेको छ। हात्ती प्रवेशका घटनामा वृद्धि भएसँगै स्थानीय बासिन्दामा त्रास बढेको छ भने मानव–हात्ती द्वन्द्व नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरू बताउँछन्।



