Aamsanchar

पर्यटकमैत्री सेवा प्रवाहमा जोड : बिर्तामोडमा दुईदिने हस्पिटालिटी तथा हाइजिन तालिम सुरु

Author Image
आइतवार, जेठ ३१, २०८३

बिर्तामोड । पर्यटन क्षेत्रको महत्वपूर्ण आधार मानिने होटल व्यवसायलाई थप व्यवस्थित, पर्यटकमैत्री र गुणस्तरीय बनाउन झापाका होटल व्यवसायीहरू अग्रसर भएका छन्। सेवा, सरसफाइ र खाद्य सुरक्षालाई व्यवसायको अभिन्न अंगका रूपमा स्थापित गर्ने उद्देश्यले बिर्तामोडमा दुईदिने हस्पिटालिटी एण्ड हाइजिन ट्रेनिङ सुरु गरिएको छ।

नेपाल पर्यटन बोर्ड काठमाडौंको आयोजनामा, होटल व्यवसायी संघ कोशी प्रदेशको समन्वय तथा होटल व्यवसायी संघ झापाको सहकार्यमा सञ्चालन भएको तालिमको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका हुन्।

होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख संग्रौलाले पर्यटन विकासका लागि होटल व्यवसायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले होटलहरूलाई आधुनिक, स्वच्छ, सुरक्षित र सेवामुखी बनाउनुपर्नेमा जोड दिँदै पर्यटकलाई आकर्षित गर्न नम्र व्यवहार, गुणस्तरीय सेवा र स्वादिष्ट परिकार आवश्यक रहेको उल्लेख गरे।

तालिममा होटल तथा रेस्टुरेन्ट व्यवसायमा आवश्यक पर्ने हस्पिटालिटी, खाद्य स्वच्छता, सरसफाइ व्यवस्थापन तथा ग्राहक सेवासम्बन्धी विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। बिर्तामोडस्थित होटल द किस्वरीका सेफ तथा स्थानीय प्रशिक्षकहरूले सहजीकरण गरिरहेका छन्।

कार्यक्रममा होटल व्यवसायी संघ क्षेत्रीय समिति अध्यक्ष किरण ओली, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष बिनोद पाण्डे, झापा प्राविधिक शिक्षालयका व्यवस्थापक देवराज बराल तथा होटल व्यवसायी महासंघका सचिव भूपेन्द्र न्यौपानेलगायतले पर्यटन प्रवर्द्धनका लागि गुणस्तरीय होटल सेवाको आवश्यकता औंल्याएका थिए।

उद्घाटन समारोहमा होटल व्यवसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष खेम ओलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शिव पौडेलले गरेका थिए।

पर्यटनसँग प्रत्यक्ष जोडिएको होटल व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरको सेवा र स्वच्छता मापदण्डअनुसार सञ्चालन गर्न यस्ता तालिम प्रभावकारी हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। तालिमले झापाको पर्यटन तथा आतिथ्य क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवस्थित र पर्यटकमैत्री बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।

Views: 16

प्रतिक्रिया (०)