Aamsanchar

कांग्रेसभित्रको विवादलाई समाधन गर्न संस्थापन पक्ष जिम्मेवार भएर अघि बढेमात्रै देशको संकट समाधान गर्न सकिन्छ : कृष्णप्रसाद सिटौला

Author Image
आइतवार, जेठ ३१, २०८३

विराटनगर –  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र भइरहेको आन्तरिक कलह, कार्यशैली र महाधिवेशनको अन्योललाई चिर्नु पर्ने बताएका छन् ।

पार्टीको विवाद समाधान गर्न नेतृत्वले साहस देखाउनुपर्ने भन्दै उनले अनावश्यक ‘नाटक’ बन्द गर्न पनि आग्रह गरे ।

विराटनगरमा कांग्रेसको इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन वा नियमित प्रक्रियाका नाममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए ।

‘विवाद के होला भनेर नडराउनुस्, १० मिनेटमै कुरा टुङ्गिन्छ। यो साहस तपाईँको हृदयबाट आउनुपर्छ,’ उनले सभापति थापालाई लक्षित गरेर भने,’लेख्ने र मेटाउने शक्ति तपाईँहरूसँगै छ, अब एकमुस्ट निर्णय गरेर अघि बढ्नुस् ।’

सिटौलाले विगतका ९औँ देखि १४औँ महाधिवेशनसम्मका नजिरहरूलाई सम्झाउँदै सोहीअनुसार आगामी महाधिवेशन सम्पन्न गर्न आग्रह गरे । पार्टी नेतृत्व र पदाधिकारीहरूलाई प्रश्न गर्दै उनले थपे, ‘जे निर्णय गर्ने हो, समयमै र एकमुस्ट गर्नुस् ।’

‘हामी लोकतन्त्रवादी हौँ, हामीमा मानवता हुनुपर्छ,’ सिटौलाले भने, ‘शत्रु पक्षलाई त त्यस्तो व्यवहार गरिँदैन भने आफ्नै साथीहरूमाथि भएको त्यो व्यवहार निन्दनीय छ। जस्तोसुकै अपराधीलाई पनि ‘ड्यु प्रोसेस अफ ल’ (कानुनी प्रक्रिया)अपनाइनुपर्छ भन्ने मान्यतामा हामी विश्वास गर्छौँ, तर हिजो पार्टीभित्रै जे देखियो त्यो अनौठो र अमानवीय थियो।’

देशको लोकतन्त्र र संवैधानिक व्यवस्था नै संकटमा परेको बेला कांग्रेसले आफ्नो आन्तरिक विवादलाई छिटो टुङ्ग्याएर बलियो बन्नुपर्ने उनले बताए। नेता सिटौलाले पार्टी कार्यालयमा रहेका नेतृत्व तहलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको निर्णय लिन र महाधिवेशनको प्रक्रियालाई पारदर्शी ढंगले अघि बढाउन आग्रह गरे ।

उनले कांग्रेसभित्रको विवादलाई समाधन गर्न संस्थापन पक्ष जिम्मेवार भएर अघि बढेमात्रै देशको संकट समाधान गर्न सकिने बताए ।

Views: 17

प्रतिक्रिया (०)