कनकाई । ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहारविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कनकाई नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट ३४० जनाले सेवा लिएका छन्।
‘दुर्व्यवहार विरुद्ध सचेतनाको अभिवृद्धि, ज्येष्ठ नागरिकका लागि खुशी र समृद्धि’ भन्ने मूल नारासहित ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहारविरुद्धको २१औँ विश्व सचेतना दिवसको अवसरमा कनकाई नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय, जामुनवारीमा एकदिने शिविर सम्पन्न भएको हो।
ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष शम्भु प्रसाद पोखरेलले गर्नुभएको थियो भने गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश कुमार पोखरेल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा कनकाई–२ का वडाध्यक्ष बलराम राई, संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक पुण्यप्रसाद बाह्रकोटी, सरस्वती माविका अध्यक्ष पशुपति आचार्य, प्रधानाध्यापक नारायण अधिकारी, मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोरा लगायतको उपस्थिति रहेको थियो।

दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा पहिलो चरणमा ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारका विभिन्न पक्ष, उनीहरूको अधिकार, सम्मान तथा आँखा स्वास्थ्यसम्बन्धी सचेतनामूलक छलफल गरिएको थियो। दोस्रो चरणमा निःशुल्क आँखा परीक्षण सेवा प्रदान गरिएको थियो।
शिविरमा ३० जना बालबालिकासहित ३४० जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा ६ जनामा मोतियाबिन्दुको शल्यक्रिया आवश्यक रहेको पाइएको छ भने २५ जनालाई थप परीक्षणका लागि अस्पताल जान सिफारिस गरिएको छ।
शिविरमा ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने सबै सेवाग्राहीलाई आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराइएको थियो।
प्रमुख अतिथि दिनेश पोखरेलले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य र सम्मानलाई केन्द्रमा राखेर सञ्चालन गरिएको कार्यक्रम उदाहरणीय रहेको बताउँदै उनीहरूको हकहित र सुरक्षाका पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडाध्यक्ष बलराम राईले कनकाईमा ज्येष्ठ नागरिकहरू युवा पुस्ताभन्दा बढी सामाजिक रूपमा सक्रिय देखिएको उल्लेख गर्नुभयो। कार्यक्रममा अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए।
संघका सचिव कृष्णप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष शम्भु प्रसाद पोखरेलले २०७१ सालदेखि नियमित रूपमा आँखा शिविर सञ्चालन हुँदै आएको जानकारी दिँदै आगामी वर्षहरूमा पनि अभियानलाई निरन्तरता दिइने बताउनुभयो।
सन् २००६ जुन १५ मा सुरु भएको ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहारविरुद्धको अभियानलाई सन् २०१२ मा संयुक्त राष्ट्रसंघले औपचारिक मान्यता दिएको स्मरण गर्दै कार्यक्रम समापन गरिएको थियो। उपस्थित सबैलाई ज्येष्ठ नागरिकप्रति मन, वचन र कर्मले सम्मान र सहयोग गर्न आग्रह गर्दै आयोजकले धन्यवाद ज्ञापन गरेको थियो।



