
बिर्तामोड। अत्याधुनिक प्रविधि, ख्यातिप्राप्त विशेषज्ञ चिकित्सक तथा चौबीसै घण्टा उपलब्ध गुणस्तरीय स्वास्थ्य सेवाका कारण झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्वी नेपालकै प्रमुख सुपर–स्पेसियालिटी स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएका छन्।
हालै आयोजित पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले सेवा विस्तार, उपचार क्षमता, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउँदै अस्पतालले पूर्वी नेपालका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ।
नेपाल सरकारले निजी क्षेत्रबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरे पनि बिएन्डसीले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै सोही सेवा, सुविधा र सहुलियतपूर्ण शुल्कमा उपचार सेवा निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।

अस्पतालमा हाल २२ वटा विशिष्ट क्लिनिकल विभागमार्फत ‘एकै छानामुनि सम्पूर्ण उपचार’ को अवधारणा कार्यान्वयन गरिएको छ। अस्पतालमा १५ जना प्रोफेसर, ४ जना एसोसिएट प्रोफेसर, ५० जना लेक्चरर, ४१ जना मेडिकल अफिसर, १६ जना प्यारामेडिक्स तथा ३५६ जना दक्ष नर्सिङ जनशक्ति कार्यरत रहेका छन्।
आर्थिक वर्ष २०८२ मा अस्पतालले ४ लाखभन्दा बढी बिरामीलाई बहिरङ्ग सेवा (ओपीडी) प्रदान गरेको जनाएको छ। सो अवधिमा २० हजार १६० जना बिरामी भर्ना भई उपचार गराएका छन् भने १८ हजार ६२० जनाले आकस्मिक सेवा लिएका छन्। अस्पतालमा ६ हजार ८५० वटा शल्यक्रिया सम्पन्न भएका छन्।
त्यस्तै, ७ हजार ६७६ जनाले निःशुल्क डायलाइसिस सेवा प्राप्त गरेका छन् भने आईसीयू, एनआईसीयू र पीआईसीयूजस्ता क्रिटिकल केयर सेवामार्फत ३ हजार ३३० जनाको उपचार गरिएको छ। मुटुरोग सम्बन्धी ५५२ वटा एन्जियोग्राफी तथा २०४ वटा एन्जियोप्लास्टी सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ।
अस्पतालमा अत्याधुनिक ट्रमा केयर, आईसीयू, सीसीयू, एनआईसीयू, पीआईसीयू, एचडीयू, नेफ्रोलोजी, एन्डोक्राइनोलोजी, कार्डियोलोजी, पल्मोनोलोजी, रेडियोलोजी, क्लिनिकल प्याथोलोजी तथा इन्टरभेन्सनल रेडियोलोजीजस्ता सेवा उपलब्ध छन्। साथै फिजियोथेरापी, पुनस्र्थापना सेवा, पोषण व्यवस्थापन तथा इन–हाउस बिरामी भोजन सेवा समेत सञ्चालनमा रहेका छन्।
पत्रकार सम्मेलनमा बिएन्डसी मेडिकल कलेजका मेडिकल डाइरेक्टर प्रा.डा. बलभद्र दासले स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्नु अस्पतालको मुख्य उद्देश्य रहेको बताउनुभयो। विपन्न नागरिक औषधि उपचार कोषमार्फत आर्थिक रूपमा कमजोर बिरामीलाई विशेष प्राथमिकताका साथ सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो।
पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले बिएन्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल महँगो रहेको भन्ने धारणा गलत रहेको बताउँदै जटिल तथा गम्भीर अवस्थाका बिरामीका लागि अस्पताल भरपर्दो उपचार केन्द्रका रूपमा स्थापित भएको दाबी गर्नुभयो।
पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल प्रा.डा. उमेश शर्मा, मुटुरोग विभाग प्रमुख डा. उमेश यादव, न्युरो तथा स्पाइन सर्जन डा. निराजन पराजुलीलगायत वरिष्ठ विशेषज्ञ चिकित्सकहरूले आ–आफ्नो विभागको उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अस्पतालमा आगामी दिनमा थप अत्याधुनिक प्रविधि भित्र्याउने, सुपर–स्पेसियालिटी सेवाको विस्तार गर्ने तथा नेपालकै उत्कृष्ट चिकित्सा शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



