Aamsanchar

बाहुनडाँगीमा हात्ती आतंक कायमै, सहअस्तित्वको अभ्यास पनि जारी

Author Image
बुधवार, असार ३, २०८३

– चेतन लामिछाने

झापा –संसददेखि सामाजिक सञ्जालसम्म पछिल्ला दिनहरूमा बाँदर आतंकको विषयले व्यापक चर्चा पाइरहेको छ । कृषकका बाली नष्ट हुने र जनजीवन प्रभावित हुने समस्याबारे सांसदहरूले समेत आवाज उठाइरहेका छन् । तर झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दाका लागि भने जंगली जनावरसँगको द्वन्द्व कुनै नयाँ विषय होइन । यहाँका स्थानीयले दशकौँदेखि जंगली हात्तीको त्रास झेल्दै आएका छन् ।

भारतको सीमावर्ती क्षेत्रमा रहेको बाहुनडाँगीमा विगतमा जंगली हात्ती गाउँ पस्नु सामान्य जस्तै छ । हात्तीले बाली नष्ट गर्ने, घरटहरा भत्काउने र स्थानीयलाई रातभर जाग्राम बस्न बाध्य बनाउने घटनाहरू पटक–पटक दोहोरिन्थे । हात्तीका कारण मानवीय तथा आर्थिक क्षतिसमेत हुने गरेको छ । आज पनि यो समस्या पूर्ण रूपमा अन्त्य भएको छैन । तर बाहुनडाँगीले समस्यालाई मात्र नियति मानेर बसेन । मानव–हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्दै सहअस्तित्वको वातावरण निर्माण गर्ने प्रयास यहाँ निरन्तर भइरहेको छ । यही उद्देश्यका साथ स्थानीय तह, संरक्षणकर्मी र समुदायको सहकार्यमा हात्तीमैत्री पर्यटनको अवधारणा अघि बढाइएको छ ।

बाहुनडाँगीमा निर्माण गरिएको प्रकृति पार्क, हात्ती अवलोकनका गतिविधि तथा होमस्टे सञ्चालनले यस क्षेत्रलाई नयाँ पहिचान दिलाउन थालेको छ । वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार हाल ९ भन्दा बढी हात्तीमैत्री होमस्टे सञ्चालनमा छन् भने आगामी दिनमा यसको संख्या अझ विस्तार गर्ने योजना रहेको छ । यसै बर्षमा ५० भन्दा बढी हात्तीमैत्री होमस्टे सञ्चालन गरिने जानकारी दिनुभयो ।

पहिले हात्ती देख्नेबित्तिकै लखेट्ने र प्रतिकार गर्ने स्थानीयको सोचमा पनि परिवर्तन आएको छ । अहिले धेरैले संरक्षण र सहअस्तित्वको पक्षमा आवाज उठाउन थालेका छन्। हात्तीलाई केवल समस्याको रूपमा नभई स्थानीय पर्यटनको सम्भावना र प्राकृतिक सम्पदाको रूपमा हेर्ने दृष्टिकोण विकसित हुँदै गएको छ ।

देशका विभिन्न स्थानबाट आउने पर्यटकहरू जंगली हात्ती अवलोकन गर्न, प्राकृतिक वातावरणको अनुभव लिन तथा बाहुनडाँगीको विशिष्ट पहिचान बुझ्न यहाँ पुग्ने गरेका छन् । यसले स्थानीय व्यवसाय, होमस्टे र स्वरोजगारका अवसरलाई समेत टेवा पुर्याइरहेको छ ।

यद्यपि चुनौती अझै बाँकी छन् । बेलाबेलामा हुने जनधनको क्षति, बाली नोक्सानी र मानव सुरक्षाको प्रश्न आज पनि उत्तिकै संवेदनशील विषय बनेको छ । त्यसैले स्थानीयहरू दीर्घकालीन समाधान, प्रभावकारी सुरक्षा संयन्त्र र क्षति न्यूनीकरणका कार्यक्रमलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँछन् ।

संसदमा बाँदरको विषयले चर्चा पाइरहेका बेला बाहुनडाँगीको अनुभवले एउटा फरक सन्देश दिन्छ । जंगली जनावरसँगको द्वन्द्व केवल नियन्त्रण वा प्रतिकारको विषय मात्र होइन, व्यवस्थापन, संरक्षण र सहअस्तित्वको माध्यमबाट अवसर सिर्जना गर्न सकिने सम्भावना पनि हो । तर त्यसका लागि समुदायको धैर्यता, राज्यको साथ र दीर्घकालीन योजना भने अपरिहार्य रहने देखिन्छ ।

Views: 24

प्रतिक्रिया (०)