
बिर्तामोड – झापामा ‘झापा रकस्टार’ को तेस्रो संस्करण आयोजना हुने भएको छ। “Jhapa Rockstar–3rd Edition Open Band Challenge (Koshi Province Level)” शीर्षकमा हुने उक्त कार्यक्रमबारे बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
संगीत क्षेत्रमा क्रियाशील युवा तथा नवप्रतिभालाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। अमृत स्टोर, बिर्तामोडको आयोजनामा तथा एन.एस.एस. इभेन्टको व्यवस्थापनमा कार्यक्रम सञ्चालन हुँदै आएको छ।
आयोजकका अनुसार, विगतका संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने यस संस्करणले झापा तथा पूर्वी नेपालका उदाउँदा ब्यान्डहरूलाई व्यवस्थित मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस वर्षको प्रतिस्पर्धाका लागि वैशाख ५ देखि जेठ १० सम्म आवेदन खुला गरिएको थियो। कोशी प्रदेशका विभिन्न स्थानबाट ब्यान्डहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। पहिलो चरणको डिजिटल अडिसनमा करिब १२ वटा ब्यान्ड सहभागी भएका थिए, जसमध्ये उत्कृष्ट सात ब्यान्ड अर्को चरणका लागि छनोट भएका छन्।
आगामी फिजिकल अडिसनबाट उत्कृष्ट पाँच ब्यान्ड छनोट गरिनेछ, जसले ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा प्रथम हुने ब्यान्डले नगद ५० हजार रुपैयाँसहित गिटार, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो निर्माणको अवसर प्राप्त गर्नेछ। त्यसैगरी, द्वितीय हुनेले ३० हजार रुपैयाँ नगदसहित गिटार र पोर्टफोलियो सुट तथा तृतीय हुनेले २० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट प्राप्त गर्नेछन्।
कार्यक्रम केवल प्रतिस्पर्धामा सीमित नभई संगीतप्रेमी, कलाकार र दर्शकलाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको दाबी छ। यसले स्थानीय प्रतिभाको पहिचान, प्रवर्द्धन तथा सांगीतिक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रम सफल बनाउन विभिन्न सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चारमाध्यम तथा संगीतप्रेमीहरूको सहयोग रहने
कार्यक्रम निर्देशक सुनिता तामाङले बताइन।



