बिर्तामोड । नेपालस्थित बिलिभर्स इस्टर्न चर्चको इतिहासमा एउटा महत्वपूर्ण, गौरवपूर्ण तथा आध्यात्मिक रूपमा अत्यन्तै स्मरणीय अध्याय थपिएको छ। प्रेरितीय परम्परा, पवित्र विश्वास र चर्चीय उत्तराधिकारको दीर्घ परम्परालाई निरन्तरता दिँदै बिर्तामोड डायोसिसले आफ्नो नयाँ आध्यात्मिक गोठालाको रूपमा हिज ग्रेस फिलिप मोर इभानियोसलाई विधिवत् स्वागत गरेको छ। उहाँको बिशपीय पदस्थापनासँगै चर्च समुदायमा नयाँ आशा, नयाँ ऊर्जा र नयाँ जिम्मेवारीको युग प्रारम्भ भएको अनुभूति गरिएको छ।
यस ऐतिहासिक अवसरलाई विशेष बनाउँदै बिर्तामोडस्थित सन्त पावल बिलिभर्स इस्टर्न चर्च क्याथेड्रलमा नवअभिषिक्त बिशपको स्वागत तथा सम्मान कार्यक्रम भव्य, गरिमामय र भावनात्मक वातावरणमा सम्पन्न भयो। कार्यक्रममा पवित्र चर्चका उच्च धर्मगुरुहरू, सामाजिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मीहरू तथा बिशाल विश्वासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पवित्र सिनडका मुख्य सचिव हिज एमिनेन्स जोशुवा मोर बर्नाबास, काठमाडौं आर्च डायोसिसका बिशप हिज एमिनेन्स टाइटस मोर ओस्थाथियोस, विभिन्न डायोसिसका भिकार जनरल तथा फादरहरू, नेपाली राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, बिर्तामोड नगरपालिकाका उपप्रमुख नागेन्द्र संग्रौला, नेपाल–भारत मैत्री संघका उपाध्यक्ष शिवराज भण्डारी, पत्रकार, शिक्षाविद् तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
उपस्थित अतिथिहरूले नवअभिषिक्त बिशपलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा पवित्र चर्चको आध्यात्मिक उन्नति, सामाजिक सेवा, मानव उत्थान तथा समुदाय विकासका कार्यहरू अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा व्यक्त गरिएका शुभेच्छा, सम्मान र प्रार्थनाका शब्दहरूले उपस्थित सबैको हृदयलाई स्पर्श गरेका थिए।

प्रेरितीय उत्तराधिकारको जीवित निरन्तरता, बिशपको पदस्थापना कुनै प्रशासनिक नियुक्ति वा साधारण जिम्मेवारी हस्तान्तरण मात्र होइन। इस्टर्न परम्पराको विश्वासअनुसार यो प्रेरितहरूबाट हस्तान्तरण हुँदै आएको पवित्र उत्तराधिकारको निरन्तरता हो। प्रारम्भिक चर्चदेखि नै प्रेरितहरूले हात राखेर सेवकहरूलाई अभिषेक गर्दै ख्रीष्टको सेवकाई सुम्पने परम्परा आजसम्म जीवित रहेको छ।
गत जुन १२ मा श्रीलंकाको कोलम्बोस्थित क्याथेड्रलमा सम्पन्न विशेष समारोहमा हिज ग्रेस फिलिप मोर इभानियोससहित चार जना सेवकहरूलाई प्रेरित सन्त थोमाको परम्पराअनुसार एपीस्कोपल सेवकाईमा अभिषेक गरिएको थियो। त्यसपछि पवित्र सिनडले गहन प्रार्थना, आध्यात्मिक विवेक र विचारपछि उहाँलाई नेपालको बिर्तामोड डायोसिसको आध्यात्मिक नेतृत्व सुम्पने निर्णय गरेको हो।
चर्चको शिक्षाअनुसार बिशप भनेको प्रशासक होइनन्; उहाँ प्रेरितहरूको उत्तराधिकारी, विश्वासका संरक्षक, सत्यका शिक्षक, पवित्र संस्कारका सेवक तथा ख्रीष्टको बगालका गोठाला हुनुहुन्छ। त्यसैले बिशपको पदस्थापना चर्चको जीवनमा अत्यन्तै पवित्र, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको घटना मानिन्छ।
आजको संसारमा नेतृत्व प्रायः शक्ति, पद र प्रतिष्ठासँग जोडेर बुझिन्छ। तर पवित्र चर्चको दृष्टिमा बिशपको पद सम्मानभन्दा बढी उत्तरदायित्वको पद हो। यो अधिकारको आसन होइन, सेवाको वेदी हो। यो प्रभुत्वको चिन्ह होइन, बलिदान र समर्पणको प्रतीक हो।
हिज ग्रेस फिलिप मोर इभानियोसलाई सुम्पिएको जिम्मेवारी पवित्र चर्चको प्रशासन सञ्चालनमा मात्र सीमित छैन। उहाँले अब हजारौँ विश्वासीहरूको आत्मिक जीवनको हेरचाह गर्नुहुनेछ, याजक तथा सेवकहरूलाई मार्गदर्शन गर्नुहुनेछ, नयाँ पुस्तालाई प्रेरितीय विश्वासमा शिक्षित गर्नुहुनेछ तथा समाजमा ख्रीष्टको प्रेम, करुणा र आशाको सन्देश फैलाउनुहुनेछ।
उहाँको सेवकाईको केन्द्रमा सुसमाचार प्रचार, विश्वासको संरक्षण, पवित्र संस्कारहरूको व्यवस्थापन, पीडित र निराशहरूको साथमा उभिनु तथा मानव जीवनमा आशा र चङ्गाइको सन्देश पुर्याउनु हुनेछ।
पवित्र सिनडको आदेशले बिशपको सेवकाईलाई चर्चका चार पर्खालभित्र सीमित राखेको छैन। बरु यसले मानव मर्यादा, सामाजिक न्याय, शान्ति, मेलमिलाप तथा समग्र मानव उत्थानको जिम्मेवारीलाई पनि बिशपीय सेवकाईको अभिन्न अङ्गको रूपमा व्याख्या गरेको छ।



