Aamsanchar

बिरिङ खोलामा डुबेको अवस्थामा ५ वर्षीया बालिकाको शव फेला

Author Image
शनिवार, असार ६, २०८३

झापा ।  झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेको अवस्थामा एक बालिकाको सव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाअन्तर्गत अस्थायी प्रहरी पोष्ट दुर्गापुरका अनुसार शनिबार बिहान करिब १० बजे कनकाई–८ निवासी कुलबहादुर रसाईलीकी ५ वर्षीया छोरी सोनिया रसाईली हराएकी थिइन्। बालिका हराएको विषयमा उनकी आमा अमृता रसाईलीले दिउँसो ३ बजे अस्थायी प्रहरी पोष्ट दुर्गापुरमा मौखिक जानकारी गराएकी थिइन्।

जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक दिर्घबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा कनकाई–८ स्थित बिरिङ खोलाको पानीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा अपराध अनुसन्धान (SOCO) टोली समेत खटिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ५ बजे शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Views: 66

प्रतिक्रिया (०)