Aamsanchar

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीद्वारा सञ्चारकर्मीसहित पाँच जना सम्मानित

Author Image
आइतवार, असार ७, २०८३

बिर्तामोड । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आफ्नो कार्यकाल समापनसँगै विभिन्न क्षेत्रबाट संस्थालाई सहयोग पुर्‍याउने पाँच व्यक्तित्वलाई सम्मान गरेको छ।

आइतबार बिर्तामोडस्थित सिपी होटलमा आयोजित पद हस्तान्तरण कार्यक्रममा पत्रकारिता, लायन्स नेतृत्व तथा व्यवसाय क्षेत्रबाट योगदान पुर्‍याएका पाँच जनालाई सम्मानपत्र प्रदान गरिएको हो। सम्मानित हुनेमा परिवेश मिडियाका सम्पादक तथा सञ्चारकर्मी पुष्प खड्का, लायन रिजन चेयरपर्सन पार्वता गिरी, डिस्ट्रिक्ट मार्केटिङ चिफ निरज ओली तथा व्यवसायी कविता पोखरेल र गोमा दंगाल रहेका छन्।

उनीहरूलाई क्लबकी निवर्तमान अध्यक्ष यशोदा उप्रेती र प्रमुख अतिथि आइपीडीजी विकास अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए। पत्रकारितामार्फत क्लबका गतिविधि आमसमुदायसम्म पुर्‍याउन योगदान दिएको भन्दै सञ्चारकर्मी खड्कालाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा निर्वाचन समिति संयोजक एवं आइपीपी मञ्जु उप्रेतीले सन् २०२६/२७ का लागि सरु भुर्तेल खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरिन्। नवनिर्वाचित अध्यक्ष खनालले क्लबको मूल्यमान्यता र सिद्धान्तअनुरूप सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

यस अवसरमा निवर्तमान अध्यक्ष यशोदा उप्रेती र नवनिर्वाचित अध्यक्ष सरु भुर्तेल खनालबीच मायाको चिनो आदान–प्रदान गरिएको थियो भने सचिवमार्फत कार्यसमितिको माइन्युटसमेत हस्तान्तरण गरिएको थियो।

अध्यक्ष उप्रेतीले आफ्नो एकवर्षे कार्यकालमा ७० वटा सामाजिक सेवामूलक कार्यक्रम सम्पन्न गरिएको जानकारी दिँदै यस अवधिमा सहयोग गर्ने व्यक्ति, संघसंस्था तथा कार्यसमितिका पदाधिकारी र सदस्यप्रति आभार व्यक्त गरिन्। कार्यक्रममा सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा सेकेन्ड भिपी गोमा मैनाली खड्काले झण्डाको अभिवादन वाचन गरेकी थिइन्। अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत र डिस्ट्रिक्ट मार्केटिङ चिफ निरज ओलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शिला भट्टराई बरालले गरेकी थिइन्।

Views: 44

प्रतिक्रिया (०)