
काठमाडौँ – मनसुन प्रणाली कोशी, बागमती र मधेश प्रदेशसहित देशका पाँचवटा प्रदेशमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले ‘सोमबार मनसुन आगमन बुलेटिन’ जारी गरीमनसुन नेपालको पूर्वी र मध्य भूभागमा अगाडि बढेको जनाएको हो।
महाशाखाका अनुसार सोमबार (२२ जुन) सम्ममा मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभागमा फैलिसकेको छ। यसैगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानहरूमा मनसुन प्रवेश गरिसकेको छ।
यो वर्ष नेपालमा सरदर मिति भन्दा ६ दिन ढिलो गरी गत असार ५ गते (१९ जुन) कोशी प्रदेशबाट मनसुन भित्रिएको थियो। हाल मनसुनी प्रणाली केही कमजोर अवस्थामा रहेकाले देशका बाँकी पश्चिमी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने मौसमविद्हरूले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले यो मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ। सोही अनुसार नियमित रूपमा मौसम अपडेट गर्दै जाने जनाएको छ। मौसममा आउने परिवर्तन र सम्भावित जोखिमबाट बच्नका लागि तीन दिने मौसम बुलेटिन नियमित हेर्न र सचेत रहन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ।



