बिर्तामोड । कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगर, प्रतिबन्धित औषधि, गाँजा तथा नगद बरामद भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित संयुक्त टोलीले लागूऔषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, मनोपरामर्श तथा जनचेतना प्रवर्द्धन गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ७ ग्राम १०० मिलिग्राम ब्राउनसुगर, तौल गर्न बाँकी १ सय ६८ किलोग्राम गाँजा, ट्रामाडोलसहित विभिन्न प्रकारका ५९ क्याप्सुल र २९९ ट्याब्लेट प्रतिबन्धित औषधि तथा ६९ हजार ७२० रुपैयाँ नगद बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई नगरपालिका–४ का २१ वर्षीय हेमबहादुर लिम्बुलाई ३८० मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल ४५ क्याप्सुल, डाइसाइक्लोमाइन ४४ ट्याब्लेट, नाइट्राजेपाम १३ ट्याब्लेट तथा ४८ हजार १५० रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

त्यस्तै, वडा प्रहरी कार्यालय भद्रपुर र सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले पाँचथरको फिदिम नगरपालिका–१ का १९ वर्षीय नुमसिक लिम्बुलाई ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। भद्रपुर नगरपालिका–८ बाट मेचीनगर नगरपालिका–१३ का २३ वर्षीय आशिष गुरुङलाई १ ग्राम ब्राउनसुगर र १९ हजार ५०० रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मोरङको पथरीशनिश्चरे क्षेत्रमा प्रहरी चौकी कुशेचौरीको टोलीले २५ वर्षीय अमन लिम्बु, २१ वर्षीय सन्दिप लिम्बु, २३ वर्षीय चन्द्र राई र १७ वर्षीय विजय राईलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–५ का २८ वर्षीय प्रकाश मादेन र १८ वर्षीय अनमोल सिवालाई ट्रामाडोल १२७ ट्याब्लेट र स्पास्पेन १२७ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाको टोलीले धरान–१३ का ३२ वर्षीय राजकुमार तामाङ ९माकुने० लाई १ ग्राम २०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
यसैबीच, कोशी प्रदेश प्रहरी कार्यालयको विशेष टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी नदी किनारमा बाँस र ट्युबमा लुकाइराखिएको ९ वटा प्लास्टिकका बोरामा रहेको १ सय ६८ किलोग्राम गाँजा बरामद गरेको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



