Aamsanchar

चन्द्रगढी धाउनुपर्ने बाध्यता अन्त्य : कनकाईबाटै जग्गा पास, धनिपुर्जा र नक्सा सेवा सुरु

Author Image
मङ्गलवार, असार ९, २०८३

कनकाई । झापाको कनकाई नगरपालिकाले भूमिसम्बन्धी सेवा आफ्नै कार्यालयबाट प्रदान गर्न थालेपछि नगरवासीलाई ठूलो राहत पुगेको छ। नगरपालिकाले जग्गा पास, नामसारी, कित्ताकाट, धनिपुर्जा तथा नक्सा वितरण सेवा सुरु गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले परिकल्पना गरेको नागरिकमैत्री सेवातर्फ महत्वपूर्ण कदम चालेको हो।
नगरपालिकाले एक महिनाअघि नै भूमि व्यवस्थापन शाखा स्थापना गरी आवश्यक तयारी पूरा गरेको थियो। शाखाले औपचारिक रूपमा सेवा सुरु गरेसँगै आज पहिलो पटक कित्ताकाटसहितको धनिपुर्जा वितरण गरेको छ।

कनकाई–६ निवासी कुसुम सिटौला प्रसाईले लक्ष्मी लामालाई बिक्री गरेको १ कठ्ठा ११ धुर जग्गाको नामसारी तथा कित्ताकाट प्रक्रिया नगरपालिकामै सम्पन्न भएपछि सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन्। यसअघि यस्ता कामका लागि जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता थियो।
जग्गासम्बन्धी सामान्य कामका लागि समेत पटक–पटक चन्द्रगढी पुग्नुपर्दा समय र खर्च दुवै बढ्नुका साथै सेवाग्राहीहरू बिचौलियाको प्रभावबाट समेत प्रभावित हुने अवस्था थियो। अब भने नगरपालिकाबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकको समय, श्रम र आर्थिक भार घट्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरवासीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यअनुसार भूमी व्यवस्थापन सेवा सञ्चालनमा ल्याइएको बताउँदै विगतदेखि नै यसका लागि पहल भइरहेको जानकारी दिए। उनले तत्कालीन अवस्थामा संघीय सरकारबाट आवश्यक सहजीकरण नपाएको उल्लेख गर्दै वर्तमान सरकारले स्थानीय तहमा भूमी व्यवस्थापन सेवा विस्तारलाई प्राथमिकतामा राखेकाले कनकाईमा सेवा सञ्चालन सम्भव भएको बताए। नगर प्रमुख पोखरेलले यसका लागि संघीय सरकारप्रति आभार व्यक्त गरे।

भूमि व्यवस्थापन शाखा प्रमुख बद्रीप्रसाद दाहालका अनुसार शाखाका लागि आवश्यक प्राविधिक जनशक्ति, कर्मचारी र पूर्वाधार व्यवस्थापन पूरा भइसकेको छ। सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक सबै तयारी गरिएको उनले बताए।

संघीय सरकारले पहिलो चरणमा देशका ३५ स्थानीय तहमा भूमि व्यवस्थापन शाखा सञ्चालनका लागि सहजीकरण गरेको छ। तीमध्ये नौ स्थानीय तहलाई प्राथमिकतामा राखिएको थियो। झापाबाट कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिका छनोट भएका छन्। झापामा भने सबैभन्दा पहिले भूमिसम्बन्धी सेवा सुरु गर्ने स्थानीय तहको रूपमा कनकाई नगरपालिका स्थापित भएको छ।
नगरपालिकाले नागरिकको घरदैलोमै सेवा पु¥याउने उद्देश्यसहित सुरु गरेको यो सेवाको स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाहरूले स्वागत गरेका छन्। नागरिकलाई सहज, सुलभ र बिचौलियामुक्त सेवा उपलब्ध गराउने दिशामा कनकाई नगरपालिकाले थालेको यो कदम स्थानीय सरकारको प्रभावकारी कार्यसम्पादनको उदाहरणका रूपमा हेरिएको छ।

Views: 56

प्रतिक्रिया (०)