झापाका स्थानीय तहबीच समन्वय र अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गठन गरिएको उपप्रमुख तथा उपाध्यक्षहरूको साझा जिल्लास्तरीय सञ्जालले नयाँ नेतृत्व पाएको छ। कमल गाउँपालिकामा सम्पन्न बैठकले भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीलाई सर्वसम्मत रूपमा संयोजक चयन गर्दै आगामी दुई महिनाका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो।
झापा । जिल्लाका १५ वटै स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरू आबद्ध रहेको सञ्जालको नेतृत्व हरेक दुई महिनामा परिवर्तन गर्ने व्यवस्थाअनुसार निवर्तमान संयोजक तथा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेको अध्यक्षतामा बसेको बैठकले राधा कार्कीलाई नयाँ संयोजकको जिम्मेवारी सुम्पिएको हो।
बैठकले स्थानीय तहका असल अभ्यासहरू साझा गर्ने, न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउने तथा बजेट र योजनाको अनुगमनलाई व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ। स्थानीय सरकार सञ्चालनका क्रममा उपप्रमुख तथा उपाध्यक्षहरूले भोगेका अनुभव, सिकाइ र अभ्यासहरूलाई एकापसमा साटासाट गर्दै जनउत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले सञ्जाल लामो समयदेखि सक्रिय रहँदै आएको छ।
सञ्जालमा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशी, बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडा, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी खरेल, झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जुदेवी थपलिया, हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर सदस्यका रूपमा आबद्ध छन्।

बैठकमा सहभागी सदस्यहरूले स्थानीय तहबीच समन्वय, न्याय सम्पादनमा एकरूपता तथा विकास निर्माणका कामको अनुगमनलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। सञ्जालको नियमित सहजीकरण भने झापामा सामाजिक संवाद र समन्वयका क्षेत्रमा सक्रिय संवाद समूहले गर्दै आएको छ।



