
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार विकासमा केन्द्रित गरिएको छ।
बुधबार बसेको नगरसभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो बैठकमा उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आय–व्यय विवरण प्रस्तुत गर्दै सडक, भवन तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर ३६ करोड ३० लाख ५३ हजार ५७६ रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।
नगरपालिकाले प्रशासनिक खर्चका लागि २४ करोड ४० लाख रुपैयाँ छुट्याएको छ भने सामाजिक विकास कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, खेलकुद तथा वडास्तरीय योजनाका लागि ९ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ।

त्यसैगरी आर्थिक विकासतर्फ कृषि, पशुपालन, उद्यमशीलता, रोजगारी, सीपमूलक तालिम र पर्यटन क्षेत्रका कार्यक्रम सञ्चालन गर्न ३ करोड ८१ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। वन, वातावरण संरक्षण, सरसफाइ तथा विपद् व्यवस्थापनका कार्यक्रमका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ।
क्षेत्रगत रूपमा शिक्षा क्षेत्रमा ३ करोड १८ लाख, स्वास्थ्य सेवाका कार्यक्रमका लागि १ करोड, कृषि विकासका लागि १ करोड ६ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सीप विकास तथा रोजगारी प्रवर्द्धनका लागि ७१ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। सहकारी क्षेत्रको प्रवर्द्धनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ।
नगरपालिकाको आयका स्रोतमा आन्तरिक आम्दानी, संघीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त तथा समपूरक अनुदान समावेश गरिएको छ। बेरुजु असुलीबाट प्राप्त हुने अनुमानित सात लाख रुपैयाँलाई समेत आयतर्फ समेटिएको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सीमित स्रोत–साधनका बीच पनि बजेट कार्यान्वयन प्रभावकारी रहेको उल्लेख गर्दै आन्तरिक राजस्व वृद्धिमा अपेक्षित सफलता हासिल हुन नसक्नु, संघीय अनुदानमा उच्च निर्भरता र निर्माण सामग्रीको बढ्दो मूल्य चुनौतीका रूपमा रहेको बताउनुभयो।
उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा भौतिक पूर्वाधारका क्षेत्रमा पछिल्ला वर्षमा उल्लेखनीय सुधार देखिएको दाबी गर्नुभयो।
यसैबीच, नगरसभामा विषयगत समितिका संयोजकहरूले आफ्नो क्षेत्रका उपलब्धि, समस्या र आगामी चुनौती समेटिएका प्रतिवेदन नगर प्रमुखसमक्ष पेश गरेका थिए।



