झापा । युवा उद्यमशीलतालाई संगठित गर्दै उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा सक्रिय नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरले बिर्तामोडमा आफ्नै शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बिर्तामोड उद्योग वाणिज्य संघको भवनको माथिल्लो तल्लामा स्थापना गरिएको कार्यालयको उद्घाटन संघका अध्यक्ष राजु न्यौपानेले गरेका हुन्।
कार्यालय उद्घाटनसँगै झापाका युवा उद्यमीबीच समन्वय, सहकार्य र अनुभव आदानप्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले निजी क्षेत्रभित्रको एकता र सहकार्यलाई सुदृढ बनाउँदै व्यवसायीहरूको साझा हितका पक्षमा अघि बढ्नुपर्नेमा जोड दिए। चुनौतीपूर्ण परिस्थितिका बीच पनि युवाहरूले उद्यमशीलतालाई विस्तार गर्दै स्थानीय उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई जीवन्त बनाइरहेको उनले उल्लेख गरे।
एनवाईइएफ झापा च्याप्टरका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष मिजस पोखरेलले स्वागत मन्तव्यसहित कार्यालय स्थापनाको औचित्यमाथि प्रकाश पारे।

उनले झापा च्याप्टरका सदस्यहरूमध्ये करिब १५ प्रतिशत युवा विदेशमा अध्ययन पूरा गरी स्वदेश फर्किएपछि उद्यममा संलग्न भएको जानकारी दिए। विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई आफ्नै भूमिमा प्रयोग गर्ने सोचका साथ उनीहरूले उत्पादनमुखी क्षेत्रमा लगानी गरेको उनले बताए।
“विदेशलाई मात्र अवसरको केन्द्रका रूपमा नहेरी आफ्नै ठाउँमा केही सिर्जना गर्नुपर्छ भन्ने भावना युवामा बलियो बन्दै गएको छ,” पोखरेलले भने।
उनका अनुसार एनवाईइएफले देशभर १७ वटा विभिन्न क्लस्टरमार्फत गतिविधि सञ्चालन गर्दै आएको छ। झापा च्याप्टरका करिब २५ प्रतिशत सदस्य प्रत्यक्ष रूपमा उत्पादन क्षेत्रमा आबद्ध छन्। कृषि, प्रशोधन, उद्योग तथा नवप्रवर्तनमा आधारित व्यवसायहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्याइरहेका छन्।
पोखरेलका अनुसार एनवाईइएफ झापा च्याप्टरका सदस्यहरूले हालसम्म पाँच हजारभन्दा बढी व्यक्तिका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरिसकेका छन्। युवा उद्यमीहरूले सञ्चालन गरेका उद्योग तथा व्यवसायले जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पुर्याइरहेको उनले बताए।
कार्यक्रममा निर्मल भट्टराई, एनवाईइएफ झापाका संस्थापक अध्यक्ष प्रवेश बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न क्षेत्रका युवा उद्यमीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव अमित ढुङ्गानाले गरेका थिए।
सन् २०२३ मा स्थापना भएको एनवाईइएफ झापा च्याप्टरले छोटो अवधिमै जिल्लामा उद्यमशीलता प्रवर्द्धन, व्यावसायिक नेटवर्क विस्तार तथा युवा व्यवसायीबीच सहकार्यको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यसको मातृ संस्था एनवाईइएफ सन् २००३ मा स्थापना भएको हो, जसले देशभरका युवा उद्यमीलाई साझा मञ्चमा आबद्ध गर्दै उद्यमशीलताको विकासमा काम गरिरहेको छ।
नयाँ कार्यालय सञ्चालनमा आएसँगै झापाका युवा उद्यमीका गतिविधि थप व्यवस्थित हुने, उत्पादनमुखी लगानीलाई प्रोत्साहन मिल्ने तथा स्थानीय स्तरमै रोजगारी र अवसर सिर्जना गर्ने अभियानले नयाँ गति लिने अपेक्षा गरिएको छ।



