Aamsanchar

उखु खेती, पशुपालन तथा धान उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएका किसानहरु पुरस्कृत

Author Image
आइतवार, असार १४, २०८३

फिदिम –  कृषि पेशालाई सम्मानित बनाउने उद्देश्य सहित फिदिम नगरपालिका वडा ४ ले उत्कृष्ट किसानहरुलाई नगद सहित सम्मान गरेको छ । जागृती आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा उखु खेती, पशुपालन तथा धान उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएका किसानहरुलाई पुरस्कृत गरिएको हो ।

सम्मानित हुनेमा उत्कृष्ट उखु किसान मदनकुमार पोखरेल, उत्कृष्ट गाईपालक होमनाथ काफ्ले, उत्कृष्ट बाख्रापालक पृथ्वीबहादुर स्याङ्वो तथा उत्कृष्ट धान उत्पादक रविचन्द्र खनाल रहेकको वडा अध्यक्ष उपेन्द्र लावतीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मित्रप्रसाद काफ्लेले कृषकलाई सम्मान गर्नु भनेको उत्पादनशील श्रमको कदर गर्नु भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा अघि बढाइरहेको उल्लेख गर्नुभयो ।

वडाध्यक्ष उपेन्द्र लावती सहित कार्यपालिका सदस्य सारदा पोखरेल तथा वडा सदस्यहरु कल्पना विश्वकर्मा, हेम सुवेदी र चन्द्र खनालले जनही ६ हजार रुपैयाँ, कदरपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो ।

यसैबीच वडा कार्यालयकै आयोजनामा फिदिम–४ अन्तर्गत सञ्चालित विद्यालयबीच विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी प्रतियोगिता समेत सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर