झापा । नेपालमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्न थालेपछि पर्यटन क्षेत्रले अफ–सिजनमै उत्साहजनक व्यापार गर्न थालेको छ। पोखरा, चितवन, मुस्ताङ, मनाङ, लुम्बिनीलगायत प्रमुख पर्यटकीय गन्तव्यका होटलहरूको अकुपेन्सी उल्लेख्य रूपमा बढेको छ भने पर्यटन व्यवसायीहरूले यसलाई पछिल्ला केही वर्षयताकै सकारात्मक संकेतका रूपमा लिएका छन्।
पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार भारतीय पर्यटकको संख्या बढ्नुका पछाडि भारत सरकारको विदेशी मुद्रा (डलर) बचत गर्ने नीति, मध्यपूर्वमा बढ्दो तनाव, अन्तर्राष्ट्रिय गन्तव्यतर्फको महँगो हवाई यात्रा तथा नेपालसम्मको सहज स्थलमार्ग प्रमुख कारण बनेका छन्। कम खर्चमा छोटो समयमै प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र चिसो मौसमको अनुभव गर्न सकिने भएकाले भारतीय पर्यटकको रोजाइ नेपाल बनेको हो।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाका अनुसार यस वर्ष भारतीय पर्यटकको आगमन गत वर्षको तुलनामा अनौपचारिक रूपमा झण्डै दोब्बर पुगेको छ। अहिले अधिकांश भारतीय पर्यटक आफ्नै सवारी साधन लिएर नेपाल भित्रिने क्रम बढेको उनले बताए।
उनका अनुसार भारतीय पर्यटक अहिले पोखरामा मात्र सीमित छैनन्। जनकपुर, चितवन, मुक्तिनाथ, जोमसोम, काठमाडौं, लुम्बिनी, पाल्पा, बर्दिया र बागलुङसम्म उनीहरूको आवागमन बढेको छ। यसले होटल, यातायात, रेष्टुरेन्ट तथा स्थानीय व्यवसायमा प्रत्यक्ष प्रभाव परेको छ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले अफ–सिजनमा समेत होटलहरूको अकुपेन्सी ७० देखि ९० प्रतिशतसम्म पुग्नु सुखद संकेत भएको बताए। उनका अनुसार भारतीय पर्यटकले खर्च गर्दैनन् भन्ने पुरानो धारणा परिवर्तन हुँदै गएको छ। उनीहरूलाई साहसिक खेल, गुणस्तरीय सेवा र विविध पर्यटकीय गतिविधि उपलब्ध गराउन सके पर्यटनबाट हुने आम्दानी अझ बढाउन सकिने उनको भनाइ छ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सूर्य थपलियाले विगत केही वर्षदेखि सीमावर्ती भारतीय राज्यलाई लक्षित गरी सञ्चालन गरिएको ‘क्रस–बोर्डर टुरिज्म’ अभियानको सकारात्मक प्रभाव अहिले देखिन थालेको बताए। डिजिटल क्यूआर भुक्तानी, सहज सीमा प्रवेश र छोटो दूरीमै पहाडी गन्तव्य पुग्न सकिने सुविधाले पनि भारतीय पर्यटक आकर्षित भएको उनको भनाइ छ।
यद्यपि बढ्दो पर्यटकसँगै केही चुनौती पनि देखिएका छन्। नेपाल पर्यटक प्रहरीका अनुसार आफ्नै सवारी साधन लिएर आउने केही पर्यटकले सडक किनार वा खुला स्थानमा क्याम्पिङ गर्ने, फोहोर फाल्ने तथा उच्च हिमाली क्षेत्रमा आवश्यक जानकारीबिना यात्रा गर्दा स्वास्थ्य समस्या भोग्ने गरेका छन्। विशेषगरी मुक्तिनाथ र जोमसोमतर्फ जाने पर्यटकमा ‘लेक लाग्ने’ समस्या देखिएकाले सीमा नाकामै स्वास्थ्य तथा यात्रा सम्बन्धी सूचना उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइएको छ।
पर्यटक प्रहरीले पर्यटकीय क्षेत्रमा हुने अत्यधिक शुल्क असुली (ओभर बिलिङ) सम्बन्धी गुनासो पनि बढ्दै गएको जनाएको छ। यस्ता घटनामा तत्काल हस्तक्षेप गरी पर्यटकलाई न्याय दिलाउने काम भइरहेको प्रहरीको भनाइ छ।
पर्यटन व्यवसायीहरूको निष्कर्ष भने स्पष्ट छ—अहिले देखिएको भारतीय पर्यटकको आकर्षणलाई दीर्घकालीन उपलब्धिमा रूपान्तरण गर्न पूर्वाधार सुधार, गुणस्तरीय सेवा, सुरक्षित यात्रा र प्रभावकारी अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सरकारले थप ध्यान दिनुपर्नेछ। त्यसो गर्न सके नेपालको पर्यटन उद्योगले यसबाट अझ ठूलो आर्थिक लाभ लिन सक्ने विश्वास गरिएको छ।



