Aamsanchar

भारतीय बजार खुल्यो, तर नेपाली चियाका लागि कडा गुणस्तर परीक्षण

Author Image
बुधवार, असार १७, २०८३

इलाम : भारत आयात हुने चियामा भारतको टी बोर्डले नयाँ निर्णय गरेको छ । उक्त बोर्डले जुन २९ मा एक सूचना जारी गर्दै पहिला रोकिएको चियाको परीक्षण प्रणाली पुनः सुचारु गरेको जनाएको छ । सूचनामा २०२६ मे १ देखि भारत आयात हुने सबै चियाको शतप्रतिशत परीक्षण गर्ने निर्णय भएको उल्लेख छ ।

यस्तै फसाइलाई पुनः निर्यातका लागि भारत आयात भएको चियाको शतप्रतिशत परीक्षण गर्ने अधिकार दिइएको उल्लेख छ । भारतभित्र प्रयोग गर्न आयात हुने चियाको सुरुवाती चरणमा जोखिमका आधारमा २० प्रतिशत नमुनाको परीक्षण गरिने उल्लेख छ ।

सूचनामा परीक्षणका लागि प्रत्येक आवेदकले दुई हजार रुपियाँ र जिएसटी तथा फसाइ र प्रयोगशालाले तोकेको परीक्षण शुल्क तिर्नुपर्ने उल्लेख छ । यसै गरी पुनः निर्यातका लागि आयात गरिएको चियाले पनि परीक्षणको प्रमाणपत्र लिनुपर्ने छ । पाँच दिनभित्र परीक्षणको प्रतिवेदन प्रयोगशालाले दिनेसमेत उल्लेख छ ।

यससँगै भारतीय टी बोर्डले भारत आयात हुने चियालाई गुणस्तरमा थप कडाइ गरेको छ ।

जान थाल्यो चिया

गएको मे १ देखि भारतीय टी बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर’ लागु गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको नेपाली चिया मङ्गलबार भारत निर्यात भएको छ ।

मङ्गलबार नौ हजार किलो पठाइएको इलामको तारागाउँ टी स्टेटका सञ्चालक उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो । “नौ हजार किलो अर्थात् एक कन्टेनर चिया कोलकाता पठाएका छौँ । त्यो चिया भन्सार पास भएर गएको छ । पर्सीसम्म कोलकाता पुग्छ,” श्रेष्ठले भन्नुभयो, “अब त्यो चिया कसरी परीक्षण गरिन्छ भन्ने केही थाह छैन । उताको व्यापारीले पठाउनु भनेपछि पठाइएको छ ।”

“भारतीय टी बोर्डले नयाँ व्यवस्था गरेकोमा भने अब गुणस्तरमा चिया उद्योगी, किसानले कुनै पनि तलमाथि गर्न सक्ने अवस्था नभएको मैले बुझेको छु,” श्रेष्ठले भन्नुभयो । नेपाली चिया अब तेस्रो मुलुक पठाउने ढङ्गकै उत्पादन गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।

यसअघि जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको दुई लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदममै थन्किएको चिया उद्योगीको भनाइ छ ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर