
धनुषा- मिथिला नगरपालिका-३, हरिहरपुरका ५५ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।
बुधबार हरिहरपुरमा एक कार्यक्रमबिच नापी कार्यालय धनुषाको १ नम्बर नापी टोलीले ती परिवारलाई लालपुर्जा वितरण गरेको हो । नापी टोलीका प्रमुख निरञ्जन यादवले साबिक हरिहरपुर गाविस वडा नम्बर ७ र ८ मा पुस्तौंदेखि गाउँब्लक जमिन भोगचलन गर्दैआएका परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले गाउँब्लक जग्गाको नापनक्सा तथा सबै कानुनी प्रक्रिया पुरा गरी लालपुर्जा वितरण गरिएको बताउँदै लालपुर्जा पाउनबाट वञ्चित रहेका परिवारलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।टोली प्रमुख यादवले लालपुर्जा प्राप्तिपछि ती परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले पुस्तौँदेखि भोगचलन गर्दै आएका गाउँब्लक जग्गाको स्वामित्व प्राप्तिका लागि भएको लामो सङ्घर्ष र कर्मचारीको निरन्तर प्रयासको कारण लालपुर्जा वितरण सम्भव भएको बताउनुभयो ।
उहाँले लालपुर्जा प्राप्तिका लागि स्थानीय समाजसेवी सुरेशकुमार महतोको प्रयासको सराहाना गर्नुभयो । नगर प्रमुख महतोले बाँकी रहेका अन्य वडाका गाउँब्लकवासीलाई पनि छिट्टै लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।
लालपुर्जा प्राप्त गरेका स्थानीयवासीले लामो समयदेखि भोजचलन गर्दै आएको जग्गामा कानुनी अधिकार प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् । त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, नापी कार्यालयका कर्मचारीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।



