Aamsanchar

भूमिगत चलखेल सुरु ? धुलाबारीका जुवाडे छुटाउन शक्तिकेन्द्र सक्रिय, प्रहरीमाथि दबाबको प्रयास

Author Image
बुधवार, असार १७, २०८३

झापा । मेचीनगर–११ धुलाबारीस्थित एक होटलबाट प्रतिबन्धित जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका चार जनालाई कानुनी कारबाहीबाट जोगाउन राजनीतिक र आर्थिक पहुँच भएका व्यक्तिहरू सक्रिय भएको स्रोतले जनाएको छ। पक्राउ परेलगत्तै स्थानीयदेखि प्रदेश तहसम्मका केही दलका नेता, प्रभावशाली व्यवसायी र पहुँचवालाहरूले प्रहरीमाथि विभिन्न माध्यमबाट दबाब सिर्जना गर्न थालेपछि घटनाले नयाँ मोड लिएको छ।

स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई हाजिर जमानीदेखि मुद्दा कमजोर बनाउनेसम्मका विकल्पमा छलफल भइरहेको छ। केही प्रभावशाली व्यक्तिले जिल्ला प्रहरी कार्यालयका अधिकारीसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्क गरी पक्राउ परेकाहरूलाई ‘सहज वातावरण’ बनाइदिन आग्रह गरेको स्रोतको दाबी छ।

यद्यपि जिल्ला प्रहरी कार्यालय झापाले भने अनुसन्धान कानुनअनुसार अघि बढिरहेको र कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी प्रक्रिया अगाडि बढाइने जनाएको छ। प्रहरीले चारै जनाविरुद्ध जुवा सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ धुलाबारीस्थित एक स्थानीय होटलमा छापा मार्दा मेचीनगर–११ का तेजु प्रसाईं, कालुमान लिम्बू, पञ्चप्रसाद राजबंशी तथा होटल सञ्चालक राजपथ राजबंशीलाई रंगेहात पक्राउ गरेको थियो।

प्रहरीका अनुसार पक्राउ परेका तेजु प्रसाईंको साथबाट रु. १ लाख ५० हजार नगद बरामद भएको छ। घटनास्थलबाट ताससहित जुवा खेल्न प्रयोग गरिएका अन्य सामग्री पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका प्रसाईं कुचो व्यवसायी हुन् भने अन्य तीन जना पनि व्यवसायमा आबद्ध रहेको बताइएको छ।

यस घटनाले फेरि एकपटक कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। सामान्य नागरिक पक्राउ पर्दा कानुन कडाइका साथ लागू हुने तर पहुँच र प्रभाव भएका व्यक्तिका हकमा पक्राउ परेको केही घण्टामै छुटाउन शक्तिकेन्द्र चलायमान हुने प्रवृत्तिले प्रहरी प्रशासनमाथि अनावश्यक दबाब बढाउने गरेको जानकारहरू बताउँछन्।

अब प्रश्न उठेको छ—कानुन साँच्चै सबैका लागि बराबर हो, कि पहुँचवालाका लागि फरक व्यवस्था छ ? धुलाबारीको यो घटनाले त्यसको जवाफ खोजिरहेको छ।

यता, दबाब दिने भनिएका व्यक्तिहरू को–को हुन् भन्ने विषयमा प्रहरीले औपचारिक रूपमा केही खुलाएको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

अनुगमन अनलाइनमा आएको समाचार 

https://anugaman.com/news/2026/07/01/3860.html

Views: 62

प्रतिक्रिया (०)