Aamsanchar

विश्वकप : पाराग्वेलाई पराजित गर्दै फ्रान्स अन्तिम आठमा, एमबाप्पेको एक गाेल नै निर्णायक

Author Image
आइतवार, असार २१, २०८३

काठमाडौं – कप्तान केलियन एमबाप्पेको उत्कृष्ट लय कायमै रहँदा फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

फिलाडेल्फिया रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक र कठिन खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

फ्रान्सको जितमा कप्तान एमबाप्पेले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।

अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले जुलाई ९ मा बोस्टन रंगशालामा मोरक्कोको सामना गर्नेछ। मोरक्कोले आयोजक क्यानडालाई हराउँदै यसअघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ।

यसअघि दाबेदार जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अन्तिम १६ मा आएको पाराग्वेले फ्रान्सविरुद्ध पहिलो हाफमा बलियो रक्षात्मक रणनीति अपनाएको थियो।

फ्रान्सले बलमाथि नियन्त्रण राखे पनि पाराग्वेको डिफेन्सलाई तोड्न सकेन। पहिलो हाफमा फ्रान्सेली टोलीले केही सिमित र प्रहारहरू गरे पनि पाराग्वेका गोलकिपर ओर्लान्डो गिललाई खासै संकट परेन।

दोस्रो हाफमा भने फ्रान्सले आक्रमण तीव्र बनायो। उसमान डेम्बेलेले कर्नरमार्फत पाएको बललाई प्रहार गरे पनि त्यो साइड नेटमा लाग्यो। त्यसपछि मनु कोनेको शक्तिशाली प्रहारलाई पाराग्वेका गोलकिपर गिलले उत्कृष्ट डाइभ हान्दै बचाएका थिए।

तर, खेलको ६९औं मिनेटमा फ्रान्सले सफलता पायो। बक्सभित्र डेसिरे डौएलाई लडाएपछि भिएआर को सहयोगमा फ्रान्सलाई पेनाल्टी दिइएको थियो। उक्त पेनाल्टीलाई एमबाप्पेले सहजै गोलमा परिणत गर्दै गोलकिपर गिललाई गलत दिशातिर डाइभ गराइदिए।

यस गोलसँगै जारी विश्वकप २०२६ मा एमबाप्पेको गोल संख्या ७ पुगेको छ। उनी यस विश्वकपको ´गोल्डेन बुट`दौडमा लियोनेल मेस्सीसँग गोल संख्यामा बराबरीमा छन्, तर असिस्ट ९गोल गर्न पास दिएको संख्या० मा अगाडि रहँदै शीर्ष स्थानमा छन्।

यसका साथै, विश्वकप इतिहासमा एमबाप्पेको कुल गोल संख्या १९ पुगेको छ। उनी अर्जेन्टिनी स्टार मेसीको सर्वकालीन विश्वकप कीर्तिमान (२० गोल) भन्दा अब मात्र १ गोलले पछाडि छन्।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर