Aamsanchar

पर्यटकीय गन्तव्य जोड्दै फाल्गुनन्द पदमार्ग

Author Image
आइतवार, असार २१, २०८३

झापा  – कोशी प्रदेशका पाँचथर र इलामका विभिन्न पर्यटकीय गन्तव्यलाई जोड्दै पदयात्रामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको फाल्गुनन्द पदमार्ग निर्माणको कामले गति लिएको छ । पाँचथरको फिदिमदेखि सुरु भएर इलामका सीमावर्ती विभिन्न स्थान हुँदै भारतसँगको सीमावर्ती तथा पर्यटकीय क्षेत्र सन्दकपुरसम्म जोड्ने उद्देश्यले यो पदमार्ग निर्माण थालिएको हो । समुद्री सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको फिदिमको शनिबारेस्थित शिवालय मन्दिरबाट सुरु हुने यो पदमार्ग तीन हजार ६३६ मिटर उचाइसम्म पुग्छ ।

फिदिम नगरपालिका–१ बाट सुरु हुने पदमार्ग फिदिम नगरपालिका–२, ३ र १४ तथा फाल्गुनन्द गाउँपालिका–३ हुँदै इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका पार गरेर सन्दकपुर क्षेत्रमा पुगेर टुङ्गिन्छ । ६१ किलोमिटर लामो यो पदमार्ग निर्माणलाई बहुपक्षीय साझेदारीको नमुना परियोजनाका रूपमा समेत हेरिएको छ ।

स्विस सरकारको सहयोगमा हेल्भेटास नेपालमार्फत सञ्चालित ट्रेल टुरिजम डेभलपमेन्ट प्रोजेक्टको ५१ प्रतिशत लगानी रहेको यस योजनामा स्थानीय तह र प्रदेश सरकारको समान २२/२२ प्रतिशत तथा सङ्घीय सरकारको पाँच प्रतिशत लगानी रहेको छ । सन् २०२८ सम्म परियोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजनाका प्राविधिक विकास न्यौपानेका अनुसार हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ ।

पदमार्गले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई पनि विशेष महत्व दिएको छ । किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनसँग सम्बन्धित ऐतिहासिक र धार्मिक स्थल यही मार्गमा पर्छन् । महागुरुको समाधिस्थल सिलौटी तथा धार्मिक महìव बोकेको लभ्रेकुटी यस पदमार्गका प्रमुख आकर्षण हुन् । मार्गआसपासका क्षेत्रमा लिम्बू र राई समुदायको मौलिक संस्कृति झल्काउने पोखरी, पाटी तथा चौतारा निर्माण गरिएका छन्, जसले यात्रुलाई स्थानीय जीवनशैलीसँग नजिकबाट परिचित गराउँछन् ।

पदमार्ग क्षेत्र प्राकृतिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । रेड पान्डा ९हाब्रे०, मृग र भालु जस्ता वन्यजन्तुको वासस्थानका रूपमा परिचित यस क्षेत्रमा चौरी र याकका बथान देख्न सकिन्छ । जैविक विविधताले भरिपूर्ण वनजङ्गल, खुला घाँसे मैदान र हिमाली वातावरणले पदयात्रालाई थप आकर्षक बनाएको छ ।

सुकेपोखरी क्षेत्रका स्थानीय समुदायले सञ्चालन गरेको होमस्टेले पर्यटकलाई स्थानीय खानाका परिकार चखाउने अवसर प्रदान गरिरहेका छन । रैथाने आलु, मकै, गाईको शुद्ध मही तथा कोदोबाट बनाइने परम्परागत तोङ्बा जस्ता परिकार पर्यटकको रोजाइमा पर्न थालेका छन् । यसले स्थानीय उत्पादनको बजारीकरणसँगै ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ । वसन्त ऋतुमा चैत वैशाखतिर पदमार्गआसपासका वनक्षेत्रमा ढकमक्क फुल्ने लालीगुराँसले वातावरणलाई अझ मनमोहक बनाउँछ । लोहाकिलडाँडाबाट देखिने सूर्योदय र आसपासका प्राकृतिक दृश्यले आगन्तुकलाई विशेष आकर्षित गर्ने फिदिम नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्र गुरुङले बताउनुभयो । पदमार्ग निर्माण सम्पन्न भएपछि फिदिमदेखि चाररातेसम्म चार दिनको पदयात्रा प्याकेज सञ्चालन गर्न सकिने अपेक्षा पर्यटन व्यवसायीको छ ।

यद्यपि बिखे भन्ज्याङदेखि छिन्तापुसम्मको केही खण्ड अझै चुनौतीपूर्ण रहेको छ । घना जङ्गल, चट्टानी भिर तथा साँघुरो गोरेटो बाटो भएका कारण उक्त क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउने काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको परियोजनाले जनाएको छ ।

दुर्गम क्षेत्रमा सञ्चार तथा इन्टरनेटसेवाको विस्तार गर्न सकिए पदमार्गले अन्तर्राष्ट्रिय पर्यटकसमेत आकर्षित गर्ने चाररातेका पर्यटन व्यवसायी डिल्ली केरुङ बताउनुहुन्छ । सन्दकपुर र आहाल क्षेत्रबाट सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले भविष्यमा यो पदमार्ग कोशी प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण आधार बन्न सक्ने विश्वास गरिएको छ ।

प्राकृतिक सम्पदा, धार्मिक महत्व, सांस्कृतिक विविधता र स्थानीय जनजीवनलाई एकैसाथ जोड्ने फाल्गुनन्द पदमार्गले पूर्वी नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले बताउनुहुन्छ । निर्माण पूरा भएसँगै यो पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुने फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले बताउनुभयो ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर