
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । यही जुलाई २१ देखि नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले जर्सी गएर अभ्यास पनि गर्नेछ ।
नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले गतवर्ष स्कटल्यान्डमा गरेको जस्तै प्रदर्शन दोहोर्याउने र हालको लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
‘प्रतिस्पर्धा बढ्दो क्रममा छ, हामी फेरि पनि युरोप टुरमा राम्रो प्रदर्शन गर्न सक्छौं जस्तो लाग्छ, टिमलाई धेरै शुभकामना छ’ खड्काले भने । ‘हाम्रो आगामी केही महिना निकै व्यस्त छ, लिग २ को शृङ्खला पनि छ, एनपीएल पनि आयोजना गर्नु छ’ खड्काले थपे ।

यस्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताएका छन् । ‘हामी पछिल्लो एक साता फिटनेसमा केन्द्रित छौं, हामी यो टुरमा धेरै महत्व दिएका छौं, विश्वकप खेल्नका लागि बाँकी शृंखला महत्वपूर्ण छन् र हामी राम्रो प्रदर्शन गर्नेछौं’ रोहितले भने ।



