
झापा : असार तेस्रो साता बितिसक्दा समेत धनकुटामा १५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । समयमा पर्याप्त वर्षा नभएका कारण धनकुटामा कुल चार हजार ९३८ दशमलव ८९ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ६९१ हेक्टर अर्थात् १५ प्रतिशत जग्गामा मात्रै रोपाइँ भएको हो ।
कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाका अनुसार जिल्लामा रोपाइँको मुख्य समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँको गति सुस्त भएको हो । केही समयअगाडि धनकुटाको माथिल्लो भेगमा मात्र पानी परेकाले त्यहाँका कृषकले केही मात्रामा रोपाइँ गरेका छन् । पर्याप्त वर्षा नहुँदा जिल्लाका अन्य भेगका खेतीयोग्य जमिन भने अझै बाँझै छन्।
धनकुटाका अधिकांश क्षेत्रमा आकासे पानीकै भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । तल्लो भूभागका किसान पानी नपरेका कारण धान खेती गर्न नपाएर खडेरीको चपेटामा परेका छन्।

पाख्रीबास नगरपालिका–५, भैँसेका किसान सन्तोष भुजेलले लामो समयदेखि पानी नपर्दा खेतीपाती गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “तीन महिना हुन लाग्यो पानी परेको छैन, खेतीपाती गर्ने जग्गा बाँझै छ । यतिबेला चारैतिर हरियाली हुनुपर्नेमा बारी सुख्खा छ ।” लामो समयको खडेरीका कारण धनकुटाको तल्लो भूभागका स्थानीयको दैनिकी झन् कष्टकर बन्दै गएको छ ।



