Aamsanchar

आज कस्ले मार्ला बाजी ?

Author Image
आइतवार, असार २१, २०८३

एजेन्सी – फिफा विश्वकप २०२६ को अन्तिम १६ मा आज ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुनेछ।

न्युयोर्करन्यु जर्सीमा हुने खेल राति १:४५ बजे सुरु हुनेछ। यो खेलको विजेताले क्वार्टरफाइनलमा मेक्सिको वा इंग्ल्यान्डसँग खेल्नेछ।

ब्राजिलले अघिल्लो चरणमा जापानलाई २-१ ले हराउँदै अन्तिम १६ को यात्रा गय गरेको थियो। इन्जुरी समयको पाँचौँ मिनेटमा गाब्रिएल मार्टिनेलीले गरेको निर्णायक गोलमा प्रशिक्षक कार्लो आन्सेलोटीको टोली विजयी बनेको थियो।

खेलभरि ब्राजिलले दबाब कायम राखे पनि अन्तिम क्षणमा मात्र गोल निकाल्न सफल भएको थियो।

नर्वेले पनि आइभरी कोस्टमाथि १-० को कठिन जित निकाल्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको थियो। उसका लागि एर्लिङ हालान्डले ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए।

विश्वकपमा यी दुई टोलीबीचको यो दोस्रो भेट हुनेछ। यसअघि सन् १९९८ को विश्वकप समूह चरणमा नर्वेले ब्राजिललाई पराजित गरेको थियो।

ब्राजिलका विङ्गर राफिन्हा मांसपेशीको चोटका कारण यो खेल गुमाउने सम्भावना छ। उनी अझै पूर्ण प्रशिक्षणमा फर्किएका छैनन्। जापानविरुद्ध घाइते भएका लुकास पाकेटाको अवस्थाबारे पनि अन्तिम निर्णय हुन बाँकी छ।

नर्वे भने लगभग पूर्ण फिट टोलीका साथ मैदान उत्रिने अपेक्षा गरिएको छ। डिफेन्डर जुलियन रियर्सन पनि टोलीमा फर्किन सक्ने सम्भावना छ।

यस विश्वकपमा अवसर सिर्जना गर्नेमा ब्राजिल सबैभन्दा प्रभावशाली टोली बनेको छ। अवसर निर्माणमा पाकेटाको भूमिका महत्वपूर्ण रहँदै आएको छ। उनले प्रतियोगितामा नौ वटा अवसर सिर्जना गरिसकेका छन्।

यता नर्वेको आक्रमण मुख्य रूपमा हालान्डमै निर्भर देखिएको छ। उनले प्रतियोगितामा ५ गोल गरिसकेका छन् भने टोलीका अन्य कुनै खेलाडीले एकभन्दा बढी गोल गर्न सकेका छैनन्। त्यसैले ब्राजिलले हालान्डलाई रोक्न सके नर्वेलाई गोल गर्न कठिन हुन सक्छ।

यो खेलमा विशेष चासोको विषय ब्राजिलका डिफेन्डर गाब्रिएल र हालान्डबीचको प्रतिस्पर्धा पनि हुनेछ। प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबाट खेल्दा यी दुईबीच पटक–पटक रोचक द्वन्द्व देखिएको थियो।

कागजमा ब्राजिल बलियो देखिए पनि हालान्डको उपस्थितिले नर्वेलाई कुनै पनि बेला खेल बदल्न सक्ने टोली बनाएको छ। त्यसैले यो खेल अन्तिम–१६ को प्रतिस्पर्धात्मक भिडन्तमध्ये एक हुने अपेक्षा गरिएको छ।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर