Aamsanchar

बाहुनडाँगी पुगे गृहमन्त्री, अब निरीक्षण होइन परिणाम चाहिन्छ

Author Image
सोमवार, असार २२, २०८३

बाहुनडाँगी । झापाको मेचीनगर–४ बाहुनडाँगीमा वर्षौंदेखि जंगली हात्तीको आतंकले जनधनको क्षति हुँदै आएको छ। यही समस्याको स्थलगत अध्ययन गर्न गृहमन्त्री सुदन गुरुङ बाहुनडाँगी पुगे, स्थानीयसँग छलफल गरे र वस्तुस्थिति बुझे।

स्थानीयले भने सरकारको उच्च तहबाट समस्या सुन्न आउने क्रमलाई सकारात्मक माने पनि केवल निरीक्षण र निर्देशनमै सीमित हुने प्रवृत्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

बाहुनडाँगीवासीको भनाइ छ— समस्या हेर्नु, बुझ्नु र समाधान गर्नु तीन फरक विषय हुन्। यदि स्थलगत भ्रमण र निरीक्षणले मात्रै समस्या समाधान हुने हो भने यसअघि पनि गृहमन्त्री, मन्त्री, सांसददेखि प्रधानमन्त्रीसम्म बाहुनडाँगी पुगिसकेका थिए। तर जंगली हात्तीको आतंक आज पनि उस्तै छ।

स्थानीयका अनुसार वर्षौंदेखि एउटै समस्या दोहोरिइरहेको छ। सरकारी टोली आउँछ, आश्वासन दिन्छ, केही निर्देशन दिन्छ र फर्किन्छ। त्यसपछि समस्या फेरि स्थानीयकै काँधमा थुप्रिन्छ। यही कारण अहिलेको भ्रमणलाई पनि नागरिकले परिणामसँग जोडेर हेरिरहेका छन्।

सरकारको प्रतिनिधि गाउँमै पुगेर जनताको पीडा सुन्नु लोकतान्त्रिक शासनको सकारात्मक अभ्यास हो। तर नागरिकले अब फोटो, निरीक्षण र आश्वासनभन्दा कार्यान्वयन खोजिरहेका छन्। जनताले सरकारलाई उसको घोषणाले होइन, नतिजाले मूल्याङ्कन गर्ने अवस्था बनेको छ।

यदि यस भ्रमणपछि हात्ती–मानव द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन योजना, बजेट र कार्यान्वयन अघि बढेन भने यो भ्रमण पनि विगतका औपचारिक भ्रमणकै सूचीमा सीमित हुनेछ। त्यस अवस्थामा जनताले वर्तमान सरकारलाई मात्र होइन, स्वयं गृहमन्त्री सुदन गुरुङको प्रतिबद्धतामाथि पनि प्रश्न उठाउनेछन्।

बाहुनडाँगीवासीको स्पष्ट अपेक्षा छ— यसपटक सरकारले आश्वासन होइन, समाधान दिनुपर्छ। अन्यथा निरीक्षणका तस्बिरहरू इतिहास बन्लान्, तर हात्तीको आतंक र नागरिकको पीडा फेरि पनि उस्तै रहनेछ।

Views: 46

प्रतिक्रिया (०)