बिर्तामोड । झापामा सडक दुर्घटना न्यूनीकरण, सुशासन, सडक अनुशासन र प्रभावकारी ट्राफिक व्यवस्थापनलाई थप कडाइका साथ कार्यान्वयन गर्न ट्राफिक प्रहरीले छड्के चेकजाँचसहित विशेष अभियान सञ्चालन गरेको छ। सरकारको सुशासन र सडक सुरक्षा सम्बन्धी निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै झापाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले कडा निगरानी बढाएको हो।
यसै क्रममा जिल्ला झापा बिर्तामोड नगरपालिका–६ मा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको समन्वय, इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपालिका तथा यातायात व्यवस्था कार्यालय बिर्तामोडको सहकार्यमा विशेष सवारी चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रम अन्तर्गत सार्वजनिक भाडाका चारपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीका चालक र सहचालकलाई लक्षित गर्दै मादक पदार्थ सेवन (एमडी) तथा लागू पदार्थ सेवन (ड्रग्स) परीक्षणसँगै सवारी साधनको यान्त्रिक अवस्था पनि परीक्षण गरिएको थियो।
प्रहरीका अनुसार अभियानका क्रममा २०९ वटा सवारी साधनको परीक्षण गरिएको थियो। ब्रेथलाइजर उपकरणमार्फत गरिएको परीक्षणमा एक जना चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएका छन्।

त्यसैगरी, शंकास्पद चालक तथा सहचालकको लागू पदार्थ सेवन परीक्षण (Rapid Diagnostic Test–RDT) गर्दा पाँच जना चालक तथा सहचालकले लागू पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
लागू पदार्थ सेवन गरेको पुष्टि भएका पाँचै जनालाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाइएको छ।
प्रहरीले मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी चलाउनु सडक सुरक्षामाथिको गम्भीर जोखिम भएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध आगामी दिनमा पनि झापाका विभिन्न स्थानमा छड्के चेकजाँचलाई निरन्तरता दिइने जनाएको छ।
कानुनी व्यवस्था अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई सवारी तथा यातायात व्यवस्था सम्बन्धी प्रचलित कानुनअनुसार जरिवाना, ट्राफिक सचेतना कक्षा तथा आवश्यक अन्य कारबाही गरिने व्यवस्था छ। त्यसैगरी लागू पदार्थ सेवन गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिलाई लागू औषध सम्बन्धी प्रचलित कानुनअनुसार अनुसन्धान तथा कानुनी प्रक्रियामा ल्याइने प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सबै चालकलाई मादक पदार्थ वा लागू पदार्थ सेवन नगरी जिम्मेवार र अनुशासित रूपमा सवारी सञ्चालन गर्न आग्रह गर्दै सुरक्षित सडक निर्माणमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ।



