Aamsanchar

छड्के अनुगमनका क्रममा अखाद्य बस्तु भेटिएपछि १५ हजार रुपियाँ जरिवाना

Author Image
बुधवार, असार २४, २०८३

धनकुटा –  धनकुटा बजारस्थित हुलाक टोलमा सञ्चालित रहेका होटलहरुमा छड्के अनुगमनका क्रममा अखाद्य बस्तु भेटिएपछि १५ हजार रुपियाँ जरिवाना गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा एउटा होटललाई जरिवान गरिएको हो ।

अनुगमनको क्रममा जिल्ला अस्पताल धनकुटा छेउमा सञ्चालित रहेको काफ्ले होटलको भान्सा सरसफाइ नभएको, पुरानो तेल प्रयोग गरी खानेकुरा बनाएको भन्दै १५ हजार रुपियाँ जरिवाना गरिएको छ । यस्तै, बजारस्थित हुलाक टोलमा रहेका सातवटा होटलहरुको अनुगमन गरिएको छ ।

अनुगमनाको क्रममा होटलबाट म्याद गुज्रिएका खाद्यन्न र तयारी खानेकुरा जफत गरिएको थियो । उक्त विभिन्न होटलमा भेटिएका अखाद्य वस्तु अनुगमन टोलीले जफत गरी नष्ट गरेको थियो । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार सेवाग्राहीको अत्यधिक गुनासो आएपछि छड्के अनुगमन गरिएको बताउनुभयो ।

यस्तै, अनुगमनको क्रममा अधिकांश होटलमा मूल्यसूचि राखेको नपाइएको, खान अयोग्य खाद्यान्न बनाइ बिक्री गरिरहेको पाइएको उहाँले बताउनुभयो । यस्ता होटललाई आगामी दिनमा अखाद्य बस्तु बेचबिखन नगर्न नगराउन सचेत गराइएको र गरेमा कडा कारबाही साथै जरिवाना गराइने रेग्मीले बताउनुभयो ।

प्रशासनले उपभोक्ताहरु नठगिऊन् भनेर बजार अनुगनमलाई तिव्रता दिइएको जनाइएको छ । धनकुटा जिल्ला अस्पताल आसपास सञ्चालित होटलहरुमा विरामी तथा कुरुवाको चाप अत्यधिक हुने भएकाले होटलवालाले जस्तो पनि खानेकुरा बनाउने गरेको गुनासो जिल्ला प्रशासन कार्यालय धनकुटामा आएपछि अनुगमनलाई तीब्र बनाइएको प्रशासनले जनाएको छ ।

होटल अनुगमन जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाको टोलीले संयुक्त रुपमा गरिएको थियो ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर