Aamsanchar

नमस्ते झरना र पटेकडाँडा सुनसान

Author Image
बिहिवार, असार २५, २०८३

धनकुटा-  नेपाल सरकारले २०७५ सालमा ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा समावेश गरिएका पर्यटकीय स्थलमध्ये धनकुटामा पर्ने नमस्ते झरना र पटेकडाँडा सुनसान छन् । प्राकृतिक विपत्ति, अधुरा पूर्वाधार, बजेट अभाव, स्थानीय तहबिचको समन्वयकारी भूमिका र प्रचारप्रसार नहुँदा ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा परेका पर्यटकीय स्थल सुनसान बनेका हुन् ।

नमस्ते झरनालाई स्थापित तथा प्रवर्धन गरिनुपर्ने गन्तव्यमा र पटेकडाँडालाई नयाँ विकास गरिनुपर्ने गन्तव्यमा सूचीकरण गरेको थियो । सूचीकरणपछि यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्धनमा विशेष प्राथमिकता हुने अपेक्षा गरिएको थियो तर झन्डै एक दशक हुन लाग्दासमेत यी पर्यटकीय स्थलको अवस्था भने उस्तै छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६, सिम्सुवामा पर्ने नमस्ते झरनामा गर्मीयाम सुरु भएसँगै पूर्वी जिल्लालगायत छिमेकी देश भारतबाट समेत पर्यटकको भिड लाग्ने गरेको थियो । झरनाको चिसो पानीमा रमाउने, प्राकृतिक पोखरीमा पौडी खेल्ने र हरियालीले घेरिएको प्राकृतिक सौन्दर्यमा समय बिताउनेका लागि विशेष गन्तव्य बनेको थियो । केही वर्षयता प्राकृतिक विपत्तिले क्षति र संरचना जीर्ण बनेकै कारण त्यसको असर प्रत्यक्ष रूपमा परेको छ ।

कोशी राजमार्गदेखि सडक पहुँच भएकाले झरनामा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । झरनासँगै प्राकृतिक पोखरीमा पौडी खेल्न आउनेको भिडले स्थानीयको होटेल व्यवसायसमेत भरिभराउ तथा आर्थिक कारोबारसमेत बढ्ने गरेको थियो । गत वर्ष आएको बाढीले झरनासम्म पुग्ने सिँढी, पुल र पैदलमार्ग बगाएपछि अवस्था भने फेरिएको छ । अहिले अस्थायी रूपमा बास तथा काठबाट बाटो निर्माण गरिएको छ तर पर्यटक जोखिम मोलेर झरना नपुगी फर्किुनपर्ने बाध्यकारी अवस्था आएको छ ।

झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाका अनुसार पहिले सार्वजनिक र साप्ताहिक बिदाको दिन झरनामा दैनिक सयौँ पर्यटक आउने गरेकोमा अहिले बाटो सुरक्षित नभएकाले आउन रोक लगाइएको बताउनुभयो ।

पर्यटक आउन छाडेपछि स्थानीयको होटेल व्यवसायमा असर पुगेकोे सुब्बाले बताउनुभयो । झरना आसपास करिब दुई दर्जनभन्दा बढी व्यवसाय सञ्चालन गरिएको छ । पर्यटक नआउँदा दैनिक आम्दानी आधाभन्दा कम भएको झरना व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा होटेल व्यवसायी दिलीप सुब्बाले बताउनुभयो ।

स्थानीय युवाले सञ्चालन गरेका साना व्यवसायसमेत बन्द हुने अवस्थामा पुगेका छन् । झरनाको पुरानो साख फर्काउन अझ व्यवस्थित, सुरक्षित र आकर्षक पूर्वाधार निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले झरनालाई सुरक्षित र दीर्घकालीन रूपमा संरक्षण गर्न विस्तृत योजना तयार भइरहेको जानकारी दिनुभयो । झरना मर्मत गरेर मात्रै पर्यटन क्षेत्र पुनर्जीवित नहुने भएकाले आधुनिक पूर्वाधार, सुरक्षाको व्यवस्था र व्यवस्थित व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ रहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपियाँ र कोशी प्रदेश सरकारले १५ लाख रुपियाँ बजेट विनियोजन गरी केही पुनर्निर्माणको काम अघि बढाए पनि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन ।

समुद्री सतहबाट करिब दुई हजार ७०२ मिटर उचाइमा रहेको धनकुटाको सबैभन्दा अग्लो पटेकडाँडा सूर्योदय, हिमाल र पहाडी दृश्यावलोकनका लागि पूर्वी नेपालको उत्कृष्ट गन्तव्य मानिन्छ । यहाँबाट मकालु, कञ्चनजङ्घालगायतका विभिन्न हिमशृङ्खला, पहाडी चुचुरा र अरुण उपत्यकाको मनोरम दृश्य, आकर्षक सूर्योदय तथा कोशी प्रदेशका विभिन्न जिल्लाको भूभागसमेत एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि आधारभूत आवश्यक पूर्वाधार अझै अधुरै छन् ।

Views: 90

प्रतिक्रिया (०)