Aamsanchar

जनविकास माविद्वारा पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान

Author Image
बिहिवार, असार २५, २०८३

झापा, बाह्रदशी। झापाको बाह्रदशी गाउँपालिका–४ स्थित जनविकास माध्यमिक विद्यालयले स्थापना भएको ७२ वर्षपछि पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान कार्यक्रम आयोजना गरेको छ।

२०११ सालमा स्थापना भएको विद्यालयले बिहीबार विशेष समारोहबीच जग्गादाता तथा संस्थापकहरूलाई मरणोपरान्त सम्मान गर्दै उहाँहरूका परिवारलाई सम्मानपत्र र दोसल्ला प्रदान गरेको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाह्रदशी गाउँपालिका–४ का वडाध्यक्ष महताव आलम प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रधानाध्यापक शिव पोख्रेलले विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार हुँदै गएको जानकारी दिनुभयो। उहाँका अनुसार २०८० सालको एसईई परीक्षामा विद्यालयको नतिजा शून्य रहे पनि २०८१ मा ५.२६ प्रतिशत र २०८२ मा २८.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। आगामी वर्ष कम्तीमा ५६ प्रतिशत उत्तीर्ण गराउने लक्ष्य लिइएको उहाँले बताउनुभयो।

हाल विद्यालयमा ५५६ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै प्रधानाध्यापक पोख्रेलले विद्यालयका करिब ९५ प्रतिशत विद्यार्थी मुस्लिम समुदायका रहेको उल्लेख गर्नुभयो। पाँच वर्षभित्र विद्यालयलाई बाह्रदशी गाउँपालिकाकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउने, साथै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो।

कार्यक्रममा स्वर्गीय बुल्ला मिया, स्वर्गीय लक्ष्मीदेवी गणेश, स्वर्गीय लिला गणेश, स्वर्गीय कालीप्रसाद गणेश तथा संस्थापक प्रधानाध्यापक स्वर्गीय प्रेमानन्द गोस्वामीलाई मरणोपरान्त सम्मान गरिएको थियो। त्यसैगरी जग्गादाता रेनुका देवी गनगाई र ठण्डाकुमारी गणेशलाई पनि सम्मान गरिएको थियो।

विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउने अफ्रिम निसा तथा कक्षा ८ मा उत्कृष्ट हुने जानकी शर्मालाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो।

यस अवसरमा विद्यालयका जग्गादाता तथा संस्थापकहरूको नामावली समेटिएको शिलालेख अनावरण गरिएको थियो भने उहाँहरूका तस्वीर विद्यालय कार्यालयमा राखिएको छ। कार्यक्रममा मुस्लिम समुदायका छात्राहरूले आफ्नो मौलिक भेषभूषामा सांस्कृतिक प्रस्तुति दिएका थिए।

समारोहमा समाजसेवी सोमनाथ बजगाई, नेपाल रेडक्रसका ओमप्रकाश गौतम, गाउँपालिकाको शिक्षा शाखा प्रमुख गीता देवी सुवेदी, स्थानीय सूर्यानारायण गणेश, सम्मानित परिवारका तर्फबाट दयानन्द गोस्वामी, संविधानसभा सदस्य हरिबहादुर राजवंशी तथा वडाध्यक्ष महताव आलमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले २०११ सालमा स्थापना भएको विद्यालयले पहिलोपटक यस्तो ऐतिहासिक सम्मान कार्यक्रम आयोजना गरेकोमा प्रधानाध्यापक शिव पोख्रेलको प्रशंसा गर्दै विद्यालयको सम्पूर्ण जग्गाको अभिलेखीकरण गरी दाताहरूको पूर्ण पहिचान सुनिश्चित गर्न सुझाव दिएका थिए। साथै हालै बाह्रदशी गाउँपालिकाले गरेको नयाँ प्रधानाध्यापक नियुक्तिपछि पोख्रेल अन्यत्र जाने अवस्था सिर्जना भएको उल्लेख गर्दै, उहाँलाई काजमा भए पनि सोही विद्यालयमै कार्यरत रहने व्यवस्था मिलाइदिन गाउँपालिकासमक्ष आग्रह गरेका थिए।

कार्यक्रममा शिक्षिका धनमाया नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शिक्षक टीका गणेशले गर्नुभएको थियो।

Views: 191

प्रतिक्रिया (०)