Aamsanchar

गुमनाम ऐतिहासिक ‘जोर धरहरा’

Author Image
शुक्रवार, असार २६, २०८३

धनकुटा- धरहरा’ भन्नेबित्तिकै अधिकांश नेपालीको मनमा काठमाडौँको सुन्धारास्थित धरहराको तस्बिर आउँछ। तर पूर्वी पहाडको ऐतिहासिक सहर धनकुटामा पनि एक शताब्दीभन्दा पुराना दुई धरहरा छन्। धनकुटा नगरपालिका–५ स्थित तल्लो टुँडिखेलको उत्तर–पूर्वी कुनामा रहेका ती दुई सेता स्तम्भलाई स्थानीयले ‘जोर धरहरा’ भनेर चिन्ने गरेका छन्।

दैनिक सयौँ मानिसको आवतजावत हुने, खेलकुद प्रतियोगिता, सभा, मेला र महोत्सवले सधैँ चहलपहल रहने टुँडिखेलको छेउमा उभिएका यी धरहरा धनकुटाको इतिहासका मौन साक्षी बनेका छन्। करिब १० फिट अग्ला यी संरचनाले धरहराको स्वरूप झल्काउँछन्। बाहिरबाट सामान्य देखिए पनि यिनले एक शताब्दीभन्दा लामो इतिहास बोकेका छन्। तर यति महत्वपूर्ण सम्पदा कसले, कहिले र किन निर्माण गर्‍यो भन्ने विषय अझै रहस्यमै छ।

धनकुटाका ज्येष्ठ नागरिक श्रीकृष्ण श्रेष्ठका अनुसार जोर धरहरा पुरानो पुस्ताका लागि निकै परिचित सम्पदा हो। “धरहरासँगै खुला मैदान र बालमन्दिर विद्यालय थियो। घर नजिकै भएकाले बाल्यकालदेखि नै यहाँ खेल्न आउँथ्यौँ। अहिले बुढेसकाल लाग्यो, त्यति पुग्न सकिँदैन। तर युवावस्थामा जोर धरहरालाई साक्षी राखेर खेलेका दिन अझै सम्झनामा ताजा छन्,” उहाँले भन्नुभयो।

धेरै ज्येष्ठ नागरिकका लागि यी धरहरा बाल्यकाल र युवावस्थाका सम्झनासँग जोडिएका छन्। धनकुटाको सामाजिक, सांस्कृतिक र राजनीतिक इतिहासका एक शताब्दीभन्दा बढी समयदेखि साक्षी बनेका यी संरचनाको निर्माणकर्ता र उद्देश्य भने अझै स्पष्ट हुन सकेको छैन। इँटा र माटोबाट बनेका यी धरहरा नौ तहको स्वरूपमा निर्माण गरिएका छन्।

निर्माणबारे फरक–फरक मत

धरहरा कहिले र कसले निर्माण गर्‍यो भन्ने कुनै लिखित प्रमाण भेटिएको छैन। यद्यपि इतिहासकार तथा अनुसन्धानकर्ताले आ–आफ्ना आधारमा विभिन्न मत राख्दै आएका छन्।

इतिहासकार टेकबहादुर श्रेष्ठका अनुसार धनकुटामा गौडा स्थापना भएपछि काठमाडौँका धरहराको प्रभावमा यी संरचना निर्माण गरिएको हुन सक्छ। उहाँका अनुसार काठमाडौँका धरहरा सेनाको निगरानी र बिगुल फुक्ने प्रयोजनका लागि प्रयोग हुन्थे। धनकुटाका धरहरा त्यही शैलीको प्रतीकात्मक स्वरूप हुन सक्ने उहाँको भनाइ छ।

इतिहासविद् डा। गोपाल भट्टराईले भने विसं १९८५ देखि १९८९ को बीचमा तत्कालीन धनकुटा गौडाका बडाहाकिम हिरण्य शमशेरले टुँडिखेल स्तरोन्नति गर्ने क्रममा यी धरहरा निर्माण गराएको हुन सक्ने बताउनुहुन्छ।

यस्तै लेखक तथा अनुसन्धानकर्ता ठाकुर बरालका अनुसार विसं १९४२ देखि १९६० सम्म धनकुटामा बडाहाकिम रहेका बमविक्रम राणाले टुँडिखेल, बग्गीमार्गलगायत अन्य संरचनासँगै जोर धरहरा पनि निर्माण गराएको हुन सक्छ।

अर्का अनुसन्धानकर्ता गोपाल भण्डारीले भने करिब विसं १९०० तिर बहादुरसिंह भण्डारीले काठमाडौँको धरहराबाट प्रेरित भएर यी संरचना बनाएको हुन सक्ने मत राख्नुहुन्छ।

स्थानीय स्तरमा तत्कालीन देवशमशेरले “काठमाडौँले एउटा धरहराबाट शासन गर्छ, म धनकुटामा दुई धरहराबाट शासन गर्छु” भन्दै निर्माण गराएको भन्ने किंवदन्ती पनि प्रचलित छ। तर इतिहासका अनुसन्धानकर्ताहरूले यसलाई पुष्टि गर्ने आधार नभएको बताउँछन्।

अझै सूचीकृत छैन
धनकुटाका ऐतिहासिक जोर धरहरा हालसम्म पुरातत्व विभागमा सूचीकृत हुन सकेका छैनन्।

पुरातत्व विभागका प्रवक्ता एवं प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार ऐतिहासिक महत्त्व भए पनि यसबारे औपचारिक पहल नहुँदा सूचीकरण हुन नसकेको हो। उहाँले आवश्यक अध्ययनपछि संरक्षण, पुनःस्थापना र सूचीकरणको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

काठमाडौँका धरहरा पटक–पटक भूकम्पले भत्किए र पुनर्निर्माण भए। तर त्यही कालखण्डमा निर्माण भएका धनकुटाका जोर धरहरा भने एक शताब्दीभन्दा बढी समयदेखि अविचलित रूपमा उभिएका छन्। पर्याप्त अध्ययन, संरक्षण र प्रचारप्रसारको अभावमा यी ऐतिहासिक सम्पदा अझै धनकुटाको सीमाभित्रै गुमनाम बनेर रहेका छन्।

Views: 79

प्रतिक्रिया (०)