Aamsanchar

खाली घन्टी – लघुकथा    

Author Image
शुक्रवार, असार २६, २०८३

तेस्रो घन्टी चल्दै थियो । कार्यतालिकाको कोठाभित्र  छोटो नाम नभएका साथीहरू शिक्षक कक्षमा गफ चुट्दै थिए । प्रधानाध्यापक उग्रकान्त बिस्तारै  शिक्षक कक्षमा प्रवेश गरे । माध्यमिक तहका विज्ञान शिक्षकका कानमा साउती गरे –
सर ! कक्षा -१० -सी   ।
उग्रकान्त नामजस्तै उग्र प्रशासक – सङ्केत नै काफी  , कोही शिक्षक पनि नाइँ भन्ने हिम्मत गर्दैन थिए ।  विज्ञान शिक्षक तपानाथजीले मन्द स्वरमा जिज्ञासा राखे । हेड सर ! कुन विषय हो ?
अरे यार ! रुटिन हेर्नु न । नेपाली विषय हो गएर कुनै कथाकहानी , उखानबखान ग्रामरबुमर केही सिकाइदिनु न !

१० को  सेक्सन सीमा दुईचार जना  हुल्लडबाज विद्यार्थी थिए । त्यसैले बडो भारी मन गरेर तपानाथ कक्षामा प्रवेश गरे । तितरबितर भएका विद्यार्थी समालिए । उनीहरूले विज्ञान किताब निकाले तर उग्रकान्त सरको उर्दी अनुसार नेपाली विषय नै पढाउनुपर्ने थियो ।
ल ल नेपाली किताब निकाल ! कडा स्वरमा तपानाथ सरले आदेश दिए । ल भन त ! तिमीहरूलाई नेपालीमा सबैभन्दा हार्ड कुन टपिक लाग्छ ? म साइन्टिफिक तरिकाले सिकाइदिन्छु ।

धेरै विद्यार्थीले समवेत स्वरमा भने – सर ! यो रस्व दीर्घ सारै अप्ठ्यारो छ । जति पढेपनि आउँदैन  ।

हत्  ! यो पनि कुनै अप्ठ्यारो हो र लु हेर त भन्दै तपानाथले श्वेतपाटीमा लेखे –

टोपि                टोपी
       सालि              साली
        वीद्या               विद्या
        सुर्य                 सूर्य    

माथि राम्ररी हेर अनि विचार गरेर भन त ! दायाँतिरको सुहायो कि बायाँतिरको ?
धेरै  विद्यार्थीले दायाँतिरको नै सुहाएको छ भने , केही विद्यार्थी चुप्प लागे ।
अनि दायाँतिरको ठिक हो भन्ने तिमीहरूलाई थाहा रहेछ त । अब देखि एसो लेखिहेर्नू जुन सुहाउँछ त्यही ठिक हो  ,कुरा बुझ्यौ ?

ह्रस्वदीर्घको नियम नै यही हो त ।

विज्ञान शिक्षकले सजिलो नियम प्रतिपादन गरिदिएपछि सबै  विद्यार्थी खुसी  हुँदै भने अहा  ! कति सजिलो   नियम ।

अरू केही समस्या छ त ?

सर यो आदिकवि भनेको के हो केही बुझिएन नेपाली सर त के के भन्नुहुन्छ के के सारै लम्बेतान ल्याङल्याङ गर्नुहुन्छ , हजुर नै ट्वाक्क भन्दिनू न ।
तपानाथ सरले भने – लु य‍ो त झन् सजिलो छ ।

ठिक छ कोही बात नहीँ ।

आज शुक्रबार हो तिमीहरू सबै जना भोलि शनिबार भानुचौक जानू , भानुभक्तको सालिक र त्यहाँ लेखेका सबै कुरा टिपोट पनि गर्नू , राम्ररी विचार गर्नू  पर्सि पनि नेपाली सर आउनुहुन्न म नै खाली घन्टीमा आउँछु अनि जानेनौ भने म सिकाइदिन्छु ।

आइतबार  प्रअ उग्रकान्त सरले कानेखुसी गर्नैपरेन । नेपाली विषयका शिक्षकले एमएको जाँच सकेर नआउन्जेल तेस्रो घन्टी तपानाथ सरले नै लिनुपर्थ्यो । ठिक समयमा उनी कक्षामा पसे । विद्यार्थीले कपीमा केही टिपोट गरेका थिए ।
आदिकवि किन भनिँदो रहेछ पत्तो लायौ ? सबै विद्यार्थीले मुखामुख गरे । चुप्प लागे  । एक छिनपछि सबैले एक स्वरमा भने –  त्यहाँ जति हेर्दा पनि आदिकवि किन भनिन्छ भन्ने लेखेको भेटिएन ।  तपानाथ सरले भने – हेर केटाकेटी हो विज्ञानले जे देख्छ त्यही भन्छ – अनि भानुभक्त आदि कवि नै हुन् नि !

किन सर ? कसरी सर ??

त्यहाँ भानुभक्त सिङ्गो थिए कि आदि थिए ? सबैले एक स्वरमा भने आदि नै थिए सर ! अनि यति सजिलो कुरा पनि तिमीहरू पत्तो लगाउन सक्दैनौ ?
एउटा विद्यार्थी जुरुक्क उठेर भन्यो सर ! अस्ति म दार्जिलिङ गएको थिएँ , त्यहाँ त भानुभक्त सिङ्गै थिए त ! उसले गार्गीले गरेजस्तै अकाट्य तथ्य र तर्क पेस गर्यो
तपानाथले आफ्नो तर्क कमजोर हुने बुझेर त्यो केटालाई एक चडकन दिँदै भने ।
त इन्डियाको कुरा गर्छस् ? हामीले राष्ट्रवादी बन्नुपर्छ भन्ने तँ गोरुलाई थाहा छैन ? हामी कुन भूमिमा छौँ ?
उता जेसुकै होस् भानुचौकमा भानु आदि छन् त्यसैले आदिकवि भनिएको हो कुरा बुझ्यौ ?
साथीको कन्चट रातो देखेर सबैले साइन्टिफिक सिकाइको अनुभूति गर्दै भने – बुझ्यौँ सर !

लक्ष्मीप्रसाद रिजाल
 बुद्धशान्ति – २ , झापा ।
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बाको ढाकर
शनिवार, साउन ९, २०८३
खाली घन्टी – लघुकथा
बुधवार, असार २४, २०८३